जापानमा अब आईपिल औषधीपसलमा उपलब्ध
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ समिति बैठकले अगाडि बढाएको नयाँ नीतिअनुसार, अब “आपतकालीन गर्भनिरोधक औषधि” (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल वा ड्रगस्टोरमा खरिद गर्न सकिने भएको छ ।
बैठकले दिएको अनुमतिअनुसार, औषधि खरिद गर्दा अनिवार्य रूपमा फार्मासिस्टसँग प्रत्यक्ष भेटेर व्याख्या सुन्नुपर्ने र त्यसपछि फार्मासिस्टकै उपस्थितिमा त्यहीँ सेवन गर्नुपर्ने नियम लागू हुनेछ ।
यो औषधि सम्भोगपछि ७२ घण्टा भित्र सेवन गर्दा गर्भधारण रोक्ने सम्भावना उच्च हुने बताइन्छ । तर हालसम्म जापानमा यसलाई केवल चिकित्सकको प्रेस्क्रिप्सनमार्फत मात्र पाउन सकिने व्यवस्था थियो । यस कारण नागरिक समाज र अधिकारकर्मीहरुले सजिलै उपलब्ध हुने व्यवस्था गर्न माग गर्दै आएका थिए ।

नयाँ व्यवस्थाअनुसार, उमेरको कुनै सीमा हुनेछैन । यस व्यवस्थाको कार्यान्वयन पश्चात नाबालिगले पनि आमाबाबुको सहमति बिना खरिद गर्न सक्ने छन् । केवल विशेष तालिम प्राप्त फार्मासिस्टले मात्र बिक्री गर्न पाउने व्यवस्था हुनेछ ।
स्वास्थ्य मन्त्रालयले यसबारे सार्वजनिक सल्लाह (पब्लिक कमेन्ट) संकलन गरेर औपचारिक प्रक्रिया अघि बढाउने जनाएको छ । मन्त्रालयका अनुसार, साधारणतया यस्तो अनुमोदनमा तीनदेखि चार महिना लाग्ने भएकाले, आउँदो वसन्तदेखि औषधि पसलमा सहज रूपमा खरिद गर्न सकिने सम्भावना रहेको छ ।
जापान सरकारको यो नयाँ व्यवस्थासंगै अनिच्छित गर्भधारणको समस्याको सहज समाधान हुने अपेक्षा गरिएको छ । साथै अन्य जोखिमपुर्ण या अन्जानवस हुने यौन सम्बन्धबाट बस्न सक्ने गर्भधारणको आकस्मिक समाधन सहज हुने अनुमान गरिएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्