सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मलाका बुवाआमा बिरामी, डिएनएमा अल्झियो प्रहरी

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको आज शनिबार ११५ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए, तर प्रहरीलाई हत्यारा नजिक पुग्नु ‘फलामका चिउरा’ चपाउनु सरह भएको छ । प्रारम्भिक अनुसन्धानमा तत्कालिन प्रहरी अधिकारीको लापरबाहीले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको हो ।

अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परिक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयहरुको डीएनए परिक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले अनुसन्धानलाई डीएनए परिक्षणबाट मात्रै अगाडि बढाएको र अन्यकुनै तथ्यहरुमा ध्यान दिने नगरेको स्थानीयहरुको आरोप छ । प्रहरीले अनुसन्धानका रुपमा एक पछि अर्को गर्दै विभिन्न व्याक्तिहरुलाई शंकास्पद भन्दै डीएनए परिक्षणमा मात्रै जगडिने गरेको एक महिला अधिकारकर्मी बताए ।

सुरुमा प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डीएनए परिक्षण ग¥यो । तर उनको डीएनए रिपोर्ट निर्मलाको ‘भजाइनल स्वाब’ संग मेल खाएन र उनि निर्दोष सावित भई रिहा भए ।

त्यसपछि क्रमशः तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्ट र भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडुको डीएनए रिपोर्ट पनि मेल खाएन ।

अन्य थप शंकास्पद मानिएका स्थानिय ४ जनाको डीएनए पनि परिक्षण गरिएको हो । परिक्षणका लागि उक्त डीएनए केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । रिर्पोट शुक्रवार सार्वजनिक भयो तर उनिहरु चारै जनाको डीएनए निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल खाएको छैन् ।

प्रहरी स्रोतका अनुसार चार जना मध्ये दुई जना निर्मलाकै आफन्त र अन्य दुईको दोस्रो पटक डिएनए पठाएको थियो । तर प्रहरीले अहिलेपनि उनीहरु को हुन् ? भन्ने बारेमा नाम सार्वजनिक गरेको छैन । अब शंकास्पद तीन जनाको डिएनए परीक्षण गरिने छ । ती ३ जनाको मध्ये कसैको पनि नमिले गाउँभरीका अन्य सयौँ जनाको डीएनए परीक्षण गर्ने तयारीमा कञ्चनपुर प्रहरीे छ ।

यता छोरिको न्यायका लागी अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्यमा समस्या देखिन थालेको छ । छोरीका निम्ति न्यायको खोजी गर्दै २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी समेत परेका छन् ।

साढे तीन महिना अघि बलात्कार पछि हत्या गरिएकी छोरी निर्मलाको न्यायको माग गर्दै ६ दिनयता देखि उनको परिवार अनिश्चितकालिन धर्नामा बसेको छ । तत्काल वास्तविक हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने उनिहरु चेतावनी दिदै आएका छन् ।

निर्मलाका आमाबुवाले सरकारले अनुसन्धानमा देखाउनुपर्ने तदारुकता नदेखाएको आरोप लगाएका छन् । घटनाको अनुसन्धानका लागि जति पनि छानबिन टोलिहरु गठन गरिए, ती सबै देखावटी मात्रै रहेको निर्मलाको बुवाआमाको आरोप छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्