बोक्सी भन्दै ७३ बर्षिया बृद्धालाई मलमुत्र खुवाईयो
धादिङको सिद्धलेक–४ गौंथलेमा ७३ बर्षिय एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुव्र्यवहार गरिएको छ । कुटपिटबाट उनी गम्भीर घाइते छिन् । स्थानीय ७३ वर्षीया एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई दुव्र्यवहार र निर्घात कुटपिट गरिएको हो ।
गम्भीर घाइते रहेकी उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ । गत कार्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र एक सैनिक जवान मिलेर उनलाई बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको पीडितका आफन्तले बताएका छन् ।
पीडित तथा घाइते लाया मगरकी नातिनी जुना मगर पौडेलले भनिन्–‘मेरी हजुर आमालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरियो । मलमुत्र पनि खुवाएका रहेछन् । घरमा रुवाबासी भएपछि दोस्रो दिन प्रहरीले चार जनालाई पक्राउ गर्यो ।’
विदामा घर आएका सेनामा कार्यरत एक स्थानीयले नै मुख्य रुपमा कुटपिट गरेको उनको आरोप छ । कुटपिट र दुव्र्यवहारमा धामीहरु ५५ वर्षीय हर्कबहादुर पुलामी, ६० वर्षीय खोलबहादुर पुलामी, ४० वर्षीय यमबहादुर मगर र सेनाको कुलेखानीस्थित राजगणमा कार्यरत धनबहादुर गुर्छान मगर संलग्न रहेको पीडितका आफन्तको आरोप छ ।
कुटपिटमा संलग्न चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न सेनाका जवान मगरले भाग्ने प्रयास गरे पनि प्रहरीको सक्रियतामा उनलाई पक्राउ गरिएको छ । पीडित परिवारका अनुसार घाइते लायोलाई गोबर र दुबो समेत खुवाइएको थियो ।
स्थानीय राजनैतिक दलका कार्यकर्ताहरुले पीडित पक्षलाई गाँउमै मिल्न चर्को दवाव दिएकोले उजुरी गर्न समेत ३ दिन ढिलाई भएको परिवारजनले वताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्