जन्ती बोकेको जिप दुर्घटना, ६ जनाको ज्यान गयो
चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहिबार बिहान ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/ghaite-upachar-garaudai-kohalpur-1024x573.jpg)
यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताएका छन् । घाइतेमा राप्तीसोनारी–८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/accident-scorpio-and-bus-in-banke-1024x623.jpg)
घाइते दुवैलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा.पुष्प भुषालले बताएका छन् । मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । बसमा सवार यात्रु भने सकुशल छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्