सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एयरपोर्ट भन्सारका अपरेटरबिरुद्ध साढे १४ करोडको मुद्दा

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको भन्सारका एकजना सामान्य कनिष्ठ कर्मचारीको नाममा करोडौँको सम्पती भेटिएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विमानस्थल भन्सारमा रेडियो अपरेटरका रुपमा कार्यरत उनीविरुद्ध अख्तियारले १४ करोड रुपैयाँ भन्दा बढीको ‘अकुत’ आर्जनसम्बन्धी मुद्दा चलाएको हो ।

अख्तियारले विमानस्थल भन्सारमा लामो समयदेखि रेडियो अपरेटर (सुनको जाँच गर्ने मेशिन चलाउने) का रुपमा कार्यरत श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत मुद्दा चलाएको हो ।

‘श्रेष्ठले १४ करोड ६१ लाख २४ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा लगेका हौँ’, अख्तियार उच्च श्रोतले भन्यो, ‘विशेषमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएका छौँ ।’ नेपाल सरकारको जुनियर कर्मचारीका रुपमा कार्यरत रहेर पनि श्रेष्ठले करोडौँ अवैध सम्पत्ति जोडेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

‘लामो समयदेखि त्रिभुवन विमानस्थल भन्सारमै रहेका उनले पदीय दुरुपयो गरी करोडौँ सम्पत्ति जोडेको पाइयो’, अख्तियार श्रोतले भन्यो, ‘हामीले सम्पत्ति छानबिन गर्दा काठमाडौँ लगायत देशका विभिन्न स्थानमा घर जग्गा, सेयर र बैंकहरुमा सुन लगायत नगद सम्पत्ति फेला परेको छ ।’

अनुसन्धानबाट उनले आफू र आफ्नो परिवारको नाममा समेत सम्पत्ति लुकाएको भेटिएपछि हदैसम्मको सजाय माग राखेर अख्तियारले मुद्दा चलाएको हो । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचार वापतको चल अचल सम्पत्ति सबै जफत र १४ करोड ६२ लाख रुपैयाँ बराबर नै जरिवाना गर्न अभियोग पत्रमा अख्तियारले माग गरेको छ ।

श्रेष्ठ तत्कालीन डिआइजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा रहँदा काठमाडौँको तिलगंगाबाट बरामद गरिएको तस्करीको ३३ केजी सुन प्रकरणमा पनि मुछिएका थिए । दुबई हुँदै भित्र्याएको सुन रेडियो अपरेटर श्रेष्ठसहितले विमानस्थल भन्सारबाट निकाल्न मद्दत गरेको तथ्य प्रहरी अनुसन्धानबट खुलेको थियो ।

यो प्रकरणमा रेडियो अपरेटर श्रेष्ठसँगै भन्सारका अन्य कर्मचारी एक्सरे मेशिन टेक्निसियन राज ढकाल, प्रध्युम्नहरी श्रेष्ठ र गंगा भुर्तेलले सघाएको खुलेको थियो । ३८ क्वीन्टल सुन तस्करीमा मुछिएर पक्राउ परेका मोरङको उर्लाबारीका चूडामणि उप्रेतीको समूहसँग श्रेष्ठको पनि संलग्नता रहेकाले त्यसमा पनि जोडेर हेरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS