सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुममा पुर्व सहायकमन्त्रीसहित ४ जनामाथी कुटपिट

नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट भएको छ । रोका सहित नेकपाका नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् ।

रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिवार बिहान ढुङ्गा समेत हानेका थिए । रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट भएको रोकाले बताए । ‘मान्छेहरू गाडी रोक्न बाटो बसेका रहेछन्, मान्छे देखेपछि हामी चढेको गाडी पनि फर्कियो,’ रोकाले भने, ‘हामी हिँड्दै गर्दा लछारपछार पारियो ।’

उनले कुटपिट नगर्न आग्रह गर्दा पनि झन् कुटपिट गरिएको बताए । शरीर दुःखेर यताउता चल्न नसक्ने अवस्थामा रहेको उनले बताएका छन् । अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताए । ‘हामीलाई रानीकोटबाट लछारपछार पार्दै रुकुमकोट र्पुयाइयो,’ उनले भने ‘त्यसपछि आन्दोलनकारीको बिचमा हालेर थप कुटपिट गरियो ।’

कसैलाई फोन गर्न समेत बन्देज गरिएको सतमानले बताएका छन् । प्रहरीको सहयोगमा उनीहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको रोकाले जानकारी दिए । कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन् ।

रुकुम पूर्वमा जिल्लाको स्थायी सदरमुकाम कायम गर्ने विषयमा विवाद छ । यी ४ जना नेता रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सक्रिय अभियान्ता हुन् । जसको नेतृत्व रोकाले गरेका छन् ।

अहिले भने जिल्लाको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । प्रमुख जिल्ला अधिकारी शर्माले भनेका छन्–‘सामान्य आन्दोलन छ, खासै समस्या छैन समाधान हुनेगरी छलफलमा जुटेका छौँ ।’

जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा हुनुपर्ने माग राख्ने समूह एउटा छ भने रुकुमकोट कायम गर्नुपर्छ भन्ने समूह अर्को छ । सदरमुकाम सम्बन्धीको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । गोल्खाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् भने रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन् ।

सरकारको निर्णय खारेजीको माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले पछिल्लो पटक मुद्दाको पेशी यही माघ २७ गते तोकेको छ । सरकारको निर्णय कार्यान्वयनको दबाबका लागि गोल्खाडा पक्षधरले यही २२ गते रुकुमकोटमा शान्तिपूर्ण र्यालीको तयारी गरेपछि रुकुमकोट पक्षधर थप आन्दोलित भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्