धमलाको दुबै मृगौला फेल, सहयोगका लागी अपिल
राम्रो अंक ल्याएर ब्याचलर लेभलको परिक्षा उतिर्ण गरेका चौतारा साँगाचोकगढी नगरपालिका–४ का २३ वर्षिय आशिष धमला यतिवेला प्राणकै परीक्षा दिइरहेका छन् । कलिलै उमेरमा दुवै मृगौला फेल भएपछि उनी २ महिनादेखि अस्पतालको बेडमा पल्टिएर जीवन रक्षाका लागि हारगुहार मागिरहेका छन् ।
सहारा बन्नुपर्ने छोरा नै अस्पतालको बेडमा पल्टिएपछि आशिषका बाबु पशुपति धमला छोरा बचाउनका लागि सहारा मागिरहेका छन् । पाँचवर्षअघि बैदेशिक रोजगारीका लागि दुवई गएका उनी छोराको दुवै मृगौला फेल भएको खवर पछि गतसाता नेपाल फर्कीए ।
‘बुढेशकालको सहारा बन्नुपर्ने छोरा नै आज जीवन मरणको दोसाँधमा प¥यो’, सोमबार छोरा बचाउनका लागि गुहार माग्दै चौतारा साँगाचोकगढी–४ स्थित वडा कार्यालयमा आइपुगेका उनले भने,–‘लौ न हजुर मेरो छोरा बचाइदिनुस् ।’
पशुपतिले काठमाडौको बनस्थलीस्थित अस्पतालमा छोराको उपचार गराइरहेका छन् । उपचारका लागि ३० लाख भन्दा बढि खर्च हुने अस्पतालले बताएपछि उनले आर्थिक सहायताका लागि आग्रह गरिरहेका छन् । ‘तीस लाख खर्च लाग्नेरहेछ, ७ लाख खर्च गरिसकें’, उनले भने,–‘साथमा पैसा छैन, बेचौं भने सम्पती छैन ।’
आशिषको उपचारका लागि रकम जुटाउन बैंकमा खाता खोलिएको भएपनि हालसम्म कहिँकतैबाट रकम नजुटेको उनले दुख सुनाए । आशिषकी आमा रुकू धमलाका नाममा एभरेष्ट बैंकमा खाता खोलिएको छ ।
आशिषको उपचारमा सहयोगका लागि एभरेष्ट बैंकको ०४८००५०१२०२२४८ मा सहयोग रकम जम्मा गरिदिन उनले सहयोगी मनहरुलाई अनुरोध गरेका छन् । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका आशिषको जिवन रक्षाका लागी मानविय नाताले सहयोग गरिदिन उनका परिवारले अनुरोध गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्