सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालप्रति नरम अमेरिका, प्रचण्डलाई भ्रमणको निम्तो

भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गरेका बिबादमा तानिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राजदूत र्याण्डी बेरीले निवासमै गएर भेट गरेको खुलासा भएको छ । नेकपाका एक नेताले राजदूत बेरीले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिएको दाबी गरेका छन् ।

राजदूत बेरीले शनिबार खुमलटारस्थित निवासमै गएर प्रचण्डसँग भेट गरेको नेकपाका केन्द्रीय नेता एवं सांसद देवेन्द्र पौडेलले पुष्टि गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा बोल्दै नेता पौडेलले भने–‘नेपालस्थित अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । अब यो समस्या (भेनेजुएला प्रकरण) हल भयो ।’

अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको नेकपा नेता पौडेलले खुलासा गरेका छन् । साक्षात्कारमा नेता पौडेलले भनेका छन्–‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नु हुँदैन ।’

भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डको वक्तव्यपछि तीव्र प्रतिक्रिया दिइरहेको अमेरिकी दूतावास नेपालको मामिलामा केही नरम जस्तो देखिन थालेको छ । सरकारले आयोजना गरेको राजदूतहरुको ब्रिफिङमै नआएका अमेरिकी राजदूत बेरीले यसवीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट र कुराकानी गरिसकेका छन् ।

यसवीचमा राजदूत बेरीले प्रचण्डलाई समेत निवासमै पुगेर भेटेपछि अमेरिकी कूटनीतिज्ञहरु नेपालको मामिलामा नरम रुपमा प्रस्तुत हुन थालेको संकेत मिलेको छ ।

के अब प्रचण्ड अमेरिका जालान् त ?
भेनेजुएलामा अमेरिकी हस्तक्षेपबिरुद्ध नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्नुपूर्व पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको भिसासमेत लिइसकेको चर्चा थियो ।

तर, भेनेजुएला प्रकरण चर्किएपछि प्रचण्डको अमेरिका जाने योजना स्थगन भएको थियो । राजदूत बेरीले निवासमै आएर अमेरिका भ्रमणको निम्तो दिएपछि अब प्रचण्डलाई सीताको उपचारार्थ अमेरिका जाने बाटो खुलेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबिच ३ घण्टा छलफल
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भएको समेत नेता देवेन्द्र पौडेलले साक्षात्कारमा खुलासा गरेका छन् । पौडेलले भनेका छन्–‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ । अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

पौडेलका अनुसार सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र पार्टीबाट निर्णयहरु गर्दा सल्लाह गर्नेबारे दुबै अध्यक्षवीच सहमति भएको छ । त्यसैगरी पार्टी एकीकरणको कामलाई दुबै अध्यक्षले पहलकदमी लिने र पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे प्रचण्ड र ओलीवीच कुराकानी भएको पौडेलले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्