सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ईरानीलाई युरोप तस्करी गर्न नेपाल ‘ट्रान्जिट’

मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरूले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ ।

अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरूले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनमा उनीहरूले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ । उनीहरूले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन् ।

उनीहरूकै सेटिङमा इरानीहरू जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो । गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानी निष्काशन गरेको थियो । ती सबै तेस्रो मुलुकको नक्कली राहदानीमा युरोप छिर्ने प्रयासमा थिए ।

जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीको संख्या बढिरहेको छ । सिरियालीहरू जाली राहदानी र नक्कली भिसामा आउन थालेपछि सरकारले उनीहरूलाई दिँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र त्यहाँको अध्यागमन कार्यालयबारे सम्पूर्ण जानकारी लिएका मानव तस्करले इरानीलाई नेपालको बाटो हुँदै युरोप छिराउँदै आएका छन् ।

तेहरान लगायत ठाउँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका अफगानले इरानीलाई जाली राहदानी र नक्कली भिसामा नेपाल ल्याउने र युरोप पठाउने गरेका छन् । उनीहरूले नै युरोप छिर्ने रुट तय गर्छन् । बेलाबेला इरानीहरू भारतबाट समेत आउने गरेका छन् ।

नेपालमा इरानीको मानव तस्करीका अन्य आयामको अनुसन्धान गर्नुपर्ने देखिएको छ । अफगानले तय गरेको रुटका तस्करले इरानीलाई सम्बन्धित मुलुकमा आगमनका बेला रिसिभ गर्छन् । त्यही विन्दुबाट उनीहरूले इरानीको नयाँ गन्तव्य तय गर्छन् ।

पछिल्लो पटक क्रोएसियाको नक्कली राहदानीमा पक्राउ परेका २ इरानीले आफू तेहरानका अफगानको जालमा परेको स्वीकारेका छन् । अध्यागमन विभागको हिरासतमा रहेका २ इरानी (आमाछोरा)ले क्रोएसियाको नक्कली राहदानी दिलाउने, गन्तव्य निर्धारण गर्नेलगायत काम अफगानले गरेको बयान दिएका छन् ।

नक्कली राहदानी दिलाउने दलाललाई प्रतिव्यक्ति २ हजार अमेरिकी डलर बुझाएको उनीहरूले बयान दिएका छन् । तेहरानबाटै अफगानीले सेटिङ गरेका व्यक्तिले मलेसियामा उनीहरूलाई क्रोएसियाको राहदानी दिएका थिए ।

विभिन्न देशमा सक्रिय तस्करले चीन र भारतको अध्यागमन कडा भएकाले मानव तस्करीका लागि नेपाललाई सहज ठानेका छन् । क्रोएसियाको नक्कली राहदानीमा पक्राउ परेकी जाहरा र उनका छोरा अमिरमातिन नेपाललाई ट्रान्जिट बनाइ फ्रान्स जाने प्रयासमा थिए ।

इरानी राहदानीमा तेहरानबाट टर्की हुँदै मलेसिया आएका उनीहरूले माघ १५ मा काठमाडौं ओर्लिएका थिए । त्रिवि अध्यागमन कर्मचारीले क्रोएसियाको राहदानी नक्कली÷सक्कली छुट्याउन नसक्दा उनीहरूलाई अनअराइभल भिसा दिएका थिए ।

माघ १७ गते फ्रान्स जाने क्रममा त्रिवि अध्यागमन कर्मचारीले क्रोएसियाली राहदानी शंकास्पद भएको भन्दै दुवै जनालाई पक्राउ गरे । काठमाडौंबाट अन्य मुलुक छिर्ने क्रममा अध्यागमनलाई शंका लागे पक्राउ पर्छन् नत्र सहजै जाने गरेका छन् ।

अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर सिस्टम नहुँदा आपराधिक गतिविधिमा संलग्न विदेशीलाई सहज हुने गरेको छ । अन अराइभल भिसामा नेपाल आउने र यहाँबाट अर्को राहदानीमा युरोपका विभिन्न देश पुग्ने गरेका छन् । तस्करहरूले बायोमेट्रिक्स सफ्टवेयर भएका कैयौं देशका अध्यागमनबाटै सेटिङ गरी इरानीहरू पठाउने गरेका छन् ।

गृह मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाई शंकास्पद यात्रा गर्ने इरानीलगायत विदेशीसँग सोधपुछ र अनुसन्धान गर्ने तयारी थालेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर राखेपछि सबै समस्या समाधान हुने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्