सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यी हुन् बालिका बलात्कार गरी जलाउने नीरज जर्घा

फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कारपछि हत्या गरेका हुन् ।

फागुन १ गते राति ८ः३० बजेसम्म रेश्मा बाजाको धुनमा नाच्दै मख्ख थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट बिहान परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बीचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे ।

कोही नभएको मौका छोपेर बिहेमा सहभागी हुन आएका २२ वर्षीय नीरज जर्घामगरले रेश्मालाई सिकार बनाए । बोल्न नसक्ने रेश्मालाई नीरजले फ्रुटी र चाउचाउ दिएर फकाई खोलाको बाटो हुँदै उत्तरतर्फ करिब २ सय मिटर पर उखुखेतमा लगे ।

बोल्न नसक्ने रेश्मा भनिने दुतिया रसाईलीलाई बलत्कार गरी जलाउने नीरज जर्घामगरलाई सार्बजनिक गर्दै प्रहरी ।

रक्सी, लागुऔषध (ट्याबलेट) र गाँजासमेत सेवन गरी मात्तिएका नीरजले रेश्मालाई फ्रुटी र चाउचाउ खान दिए । नीरजले रेश्मालाई जबर्जस्ती करणी गरे । बलात्कारपछि अचेत भएकी रेश्माले आफ्नो पोल खोल्ने डरले नीरजले उनको घाँटी थिचेर हत्या गरे ।

हत्यापछि बालिकाको शव लुकाउने र फिंगर प्रिन्टलगायत प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि सुकेका उखुका पात, बालिकाले लगाएका कपडा र चप्पल राखेर आगो लगाइदिए । रेश्माको शवमा आगो लगाएपछि नीरज फेरि विवाहको घरमा गई नाचगान हेरी बसेका थिए ।


हत्या गरिएकी रेश्मा रसाइली (बीचमा) रेश्मालाई जलाएर फालेको ठाउँ देखाउँदै स्थानीय (बायाँ) र छोरी जलाइएको घटनाले भक्कानिएका देवनारायण एक महिनाअघि जलेको घरमा (दायाँ) । तस्बिर : राजकरण महतो/अन्नपुर्णपोष्ट

घटनाको भोलिपल्ट बिहान १०ः३० बजे स्थानीयले उखुबारीमा आधा जलेको शव देखे । शवमाथि कुनै लुगा नरहेको कारण पहिचान गर्न मुस्किल थियो । रेश्माले लगाएको स्वेटरको टुक्रा शवमाथि देखेपछि परिवारजनले उनको पहिचान गरेको थियो । उखुबारीमा आधा जलेको शव देखेपछि गाउँलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

यसरी समातिए अभियुक्त निरज जर्घामगर
धनुषा बटेश्वर गाउँपालिका–४ बैगाली टोल काकाको घरमा बस्दै आएका नीरजको मामाघर हरिहरपुर मगरटोलमा छ । बालिकाको बलात्कारपछि हत्या गरी उनी बिहे घरबाट राति करिब ११ः३० बजे मामाघरमा गई सुते । बिहान उठ्दा गाउँमा बालिका हत्याको हल्ला भइसकेको थियो ।

नीरज आफैं पनि शव जलाएको ठाउँ हेर्न गए । घटनास्थलबाट मामाघर फर्किएर बिहान १० बजे गाउँबाट भागे । संवेदनशील एवं गम्भीर प्रकृतिको घटना भएकाले जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी इकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थाल्यो ।

बोल्न नसक्ने ११ बर्षिया दुतिया रसाईली (रेश्मा)को बलात्कार गरी नीरज जर्घामगरले जलाएको शव ।

अनुसन्धानका लागि हेटौंडाबाट तालिम प्राप्त कुकुरलाई पनि परिचालन गरियो । जनकपुर अञ्चल अस्पतालबाट चिकित्सकहरूको फरेन्सिक टोलीले घटनास्थलमा गई अनुसन्धान र्गयो ।

घटनास्थल, परिवारजन, आफन्त, प्रत्यक्षदर्शी र घटना भएको अघिल्लो दिनसम्म गाउँमा भएकाको उपस्थितिलाई प्रहरीले सूक्ष्म रूपमा केलायो । प्रारम्भिक अनुसन्धानले नीरज घटना हुँदा र पछि पनि गाउँमा रहेको देखिए पनि प्रहरीको सक्रियता बढ्न थालेपछि भागेको देखायो ।

नीरज आपराधिक प्रवृत्तिका युवा भएको प्रहरीको रेकर्डले देखाएको छ । प्रहरीले उसको खोजतलास तीव्र पार्यो । लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले नीरजलाई धनुषा विदेह नगरपालिका—२ दुहबीटोलबाट सोमबार पक्राउ गरेको छ ।

चोरीका घटनामा संलग्न रहेको, केटी जिस्क्याएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई कारबाही गरेको, सार्वजनिक अपराधमा प्रहरी वृत्त कालिमाटीका साथै ३ महिना केन्द्रीय कारागारमा बसिसकेको प्रहरी रेकर्डले देखाएको एसपी शेखर खनालले जानकारी दिएका छन् । नीरजमाथि जबर्जस्ती करणी, कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

परिवारमा भएको अकल्पनीय घटनाले रेश्माका आफन्त सम्हालिन सकेका छैनन् । रेश्माका बुबा एक सातापछि पनि राम्ररी बोल्न सकेका छैनन् । भतिजीको बलात्कार र हत्यामा संलग्नलाई कडा कारबाही गर्न काका देवराज रसाइलीले जाहेरी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्