सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डोमले जिउ छोएको भन्दै आमाछोरीमाथी कुटपिट

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् ।

प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो । ३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ।

३ फागुनमै इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले बताए । प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो ।

कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ । घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताएका छन् ।

‘लहान ल्याएर उपचार गराएँ,’ उनले भने, ‘सात हजार पाँच सय रुपैयाँ खर्च भयो । फेरि केही गर्लान् कि भन्ने त्रासमा छौँ ।’ अमिरका बहिनीको विवाहका लागि उदयपुर करैयाबाट माइती आएकी थिइन् । ‘घरमा बसिरहेका आमाछोरीलाई उनीहरूले सानो जातको भएर ठूलो कुरा गर्ने भन्दै गालीगलौज, लछारपछार गर्दै कुटपिट गरेछन्,’ दुःखीले भने, ‘म काम गर्न लहान आएको थिएँ । घटना थाहा पाएपछि घरमा पुग्दा कुट्नेहरु हिँडिसकेका रहेछन् ।’

कुटपिटको मात्रै उजुरी परेको छः प्रहरी
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले आफूकहाँ छुवाछुतको सम्बन्धमा उजुरी नपरेको बताए । कुटपिटको मात्र निवेदन दर्ता भएको उनको भनाई छ । उनले भनेका छन्–‘त्यसकै आधारमा छलफल बोलाएको हो । जिउ छोएका कारण कुटपिट भएको हो भने निवेदन पनि त्यही रूपले आउनुपथ्र्यो ।’

पीडकमाथि कारबाही गर्न डोम उत्थान समाजको माग
डोम उत्थान समाज सिरहाले पीडकमाथि कानुनी कारबाहीको माग गरेको छ । समाजका सिरहा जिल्ला अध्यक्ष रामचन्द्र मरिकले खोलामा जिउ छोएको निहुँमा नाबालक कुटिएपछि त्यही कारणले पुनः आमाछोरी कुटिनु मानवअधिकारको हनन् भएको बताए । उनले भनेका छन्–‘कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्छ ।’

टेम्पो चढ्दा पनि छुवाछुत
ललिताका ससुरा ६१ वर्षीय चलतर मरिकले छुवाछुतका कारण लहान ओहोरदोहोर गर्ने टेम्पो चढ्न पनि आफूहरूलाई समस्या रहेको गुनासो गरे । ‘टेम्पोमा हामी चढेपछि अरू गाउँले चढ्दैनन्,’ उनले भने, ‘डोम चढेको टेम्पो चढ्दैनौँ भन्दै उत्रिन्छन् या यिनलाई उतारे मात्र जान्छौँ भन्दै टेम्पोचालकलाई धम्क्याउँछन् ।’

अमही गाउँ लहानबाट करिब चार किलोमिटर दूरीमा छ । यहाँ तीनवटा टेम्पो चल्ने गर्छ । ‘चालक केही भन्दैनन्, तर गाउँलेले तल्लो जातको भनेर हेला गर्छन्,’ चलतरले भने । सिरहामा डोम जातिको जनसंख्या करिब २ हजार २ सय रहेको समाजले जनाएको छ ।

यसरी कुटिए ललिताका आमाछोरी
८ वर्षीय सुशील मरिक ३ फागुनमा बिहान भाइसँग शौच गर्न मुतनी खोलातिर गएका थिए । मरिक दाजुभाइका दौँतरी छिमेकी अयोधी सदायका नाति अशोक पनि खोला किनारमा शौच गर्न गएका थिए । शौचपछि खोलातिर जाँदै गर्दा छोएको निहुँमा उनीहरूबीच विवाद भएको ललिताले बताइन् ।

‘जिउ छोएको निहुँमा छोरालाई खोलामै कुटेपछि सदायको घरमा किन झगडा गरेको भन्न गएकी थिएँ,’ उनले भनिन्, ‘त्यहाँबाट घर फर्केलगत्तै तीनजना आएर हामीलाई दनादन कुटे ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्