युद्धको संघारमा भारत र पाकिस्तान, नेपाल सतर्क
दुई छिमेकी मुलुकहरु भारत र पाकिस्तान बिच तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।
भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस–ए–मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ ।
भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तराष्ट्रिय उडान हुने एक मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षा सतर्कता उच्च बनाइएको हो ।
प्रवक्ता सुवेदीले भनेका छन्–‘छिमेकी दुई देशको तनावलाई ध्यानमा राख्दै सीमाक्षेत्र र विमानस्थलमा हामीले निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ । सम्भावित घुसपैठ हुने कुरामा हामी चनाखो छौँ, दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई पनि ख्याल गर्दै सीमामा सतर्क हुन निर्देशन दिइसकेका छौँ ।’
प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो । भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतवार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालमा पनि सतर्कता बढाइएको हो ।
अपहरण प्रयास भएपछि १४२ यात्रु सवार विमानलाई चित्तगंगामा आपतकालीन अवतरण गराइएको थियो । विमान अवतरण गरिएपछि ककटपिटभित्र प्रवेश गर्न खोज्ने एकजना २५ वर्षीय युवकलाई गिरफ्तार गरिएको बंगलादेशी प्रहरीले जनाएको छ ।
यसअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैस–ए–मोहम्मदका संस्थापक मसहुद अजहरलाई छुटाउन सन् सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो । उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए ।
दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या भएको थियो भने अन्य धेरैलाई घाइते बनाइएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्