सप्तरीमा दम्पतीको हत्या गरी घरभित्रै जलाइयो
सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा सोमबार राति एक दम्पतीको हत्यापछि घरभित्रै जलाइएको छ । ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवी साहको हत्यापछि कोठाभित्रै आगो लगाई जलाइएको हो ।
खरचुहिया बजारमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको उनको दुईतले पक्की घरमा सोमबार राति हत्या गरी जलाइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
मंगलबार बिहान ८ बजे दूध लिएर आएका व्यक्तिले घर नखुलेको र भुइँतलाको झ्यालबाट धूवाँ निस्केको देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोली घटनास्थल पुग्दा दम्पतीको शव कोठाभित्रै पूर्ण रूपमा जलेर नष्ट भएको अवस्थामा फेला परेको थियो ।
एसपी राजेन्द्र बिष्टले भने–‘सुविधा सम्पन्न घरको भुइँतलाको कोठामा पूर्ण रूपमा जलेको अवस्थामा दम्पतीको शरीरका केही कंकाल मात्र भेट्यौं । घटनास्थलको प्रकृति हेर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेर जलाएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
![](https://everestwall.com/wp-content/uploads/2018/12/hatya-chirpat-murder.jpg)
हत्यापछि घरमा रहेका लुगाफाटाले छोपेर आगो लगाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घरभित्र र बाहिर धेरै स्थानमा रगतका छिटा देखिएकाले दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाइएको हुन सक्ने प्रहरी अनुमान छ ।
एसपी बिष्टले भने–‘घरभित्रको फ्रिज र दराज तथा आँगन र पर्खाल नजिक रगतको छिटा देखिएका छन् ।’ हत्या गर्ने समूह फलामको भर्याङबाट घरको पश्चिमी पर्खाल पार गरी आँगन हुँदै भित्र प्रवेश गरेको हुन सक्ने प्रहरी अनुमान छ ।
हत्या गरिएका सबुरी साह केही वर्षदेखि पक्षघातपीडित थिए । दम्पतीमात्र घरमा बस्दै आएका थिए । दम्पतीका दुई छोरामध्ये जेठा सत्यनारायण खानेपानी कार्यालय उदयपुरमा इन्जिनियर छन् भने कान्छो छोरा तेजनारायण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्जिनियर छन् ।
कान्छो छोरा तेजनारायणका अनुसार दम्पतीले सोमबार साँझ उनीसित टेलिफोनमा कुराकानी गरेका थिए । त्यसक्रममा बुबाआमाले कुनै खतराको कुरा नबताएको तेजनारायणले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार सम्पन्न परिवारका साह दम्पतीले स्थानीयस्तरमा लाखौं रुपैयाँ ब्याजमा लगाएका थिए । कम्तीमा ५० लाख रुपैयाँभन्दा बढी स्थानीयस्तरमा लगानी रहेको छोरा तेजनारायणले बताए ।
हत्या गर्ने समूहले दराजभित्र रहेका कर्जासम्बन्धी विभिन्न कागजातसमेत जलाएकाले हत्या र जलाउने कार्यमा ऋण लिएका कुनै व्यक्ति नै संलग्न हुन सक्ने स्थानीयको आशंका छ । सप्तरी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
सप्तरी प्रहरीका साथै पूर्व क्षेत्रीय प्रहरी आवासीय विद्यालय धरानबाट तालिम प्राप्त कुकुरसमेत अनुसन्धानका लागि ल्याइएको छ भने प्रदेश प्रहरी कार्यालय जनकपुरबाट अनुसन्धान ब्युरोका अधिकारीहरूसमेत अनुसन्धानमा जुटेका छन् । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक टोली पनि अनुसन्धानमा संलग्न रहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्