विप्लव माओवादी कार्यकर्ता खोज्न गाउँ पस्यो सेना
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना कालिकोटका गाउँपसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।
कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ । नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो । गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताएका छन् ।
उनले भने–‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’ सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रित भएपछि गाउँले त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् ।
जिल्लाका सुरक्षा निकायले नेकपाका महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको हो । नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताएका छन् ।
उनले भने, ‘एसईई दिने विद्यार्थीलाई रातो टिसर्ट लगाएर माल्कोटको जंगलमा लाठी बोकाएर कुुदाइरहेका छन् भन्ने खबर पाएका छौं । तिनीहरुलाई घर फर्काउन व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं ।’
कालिकोटमा नेकपाका नेताहरुले गाउँगाउँबाट एसईई दिने विद्यार्थीलाई पार्टीको अभियान भन्दै लिने गरेका छन् । डिएसपी शर्माले थपे–‘हामी हरेक गाउँमा गएर अभिभावकलाई पनि सम्झाउँछौं । पलाँतामा विप्लवको कार्यक्रम छ भन्ने खबर छ । कुनै पनि स्थानीय तहमा विप्लवलाई कार्यक्रम गर्न दिँदैनौं ।’
कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्ला निकै शान्त रहेको बताएका छन् । उनले भनेका छन्–‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती गाउँतिर गएको छ । नेकपाका नेताबारे सूचना संकलन गर्ने कार्य भइरहेको छ ।’
नेकपा निकट युवा संगठन नेपालका कर्णाली ब्युरो इन्चार्ज शीतल विष्टले सरकारका गतिविधिको सशक्त प्रतिकार गर्न तयार रहेको बताएका छन् । उनले भने–‘हामीसँग कोटवाडाबाटै जिल्ला सदरमुकाम हान्ने ताकत छ । भ्रष्ट जनप्रतिनिधि र प्रहरीलाई गाउँ छिर्न दिदैनौं ।’
मुलुकभर निर्दोष कार्यकर्तालाई पक्राउ गर्ने, धरपकड गर्ने कार्य सरकारले गरिरहेकाले दमन गर्ने कार्यमा रोक नलगाए बम गोला पड्काउन तयार रहेको उनले चेतावनी दिएका छन् ।
अन्नपुर्ण पोष्टबाट
फेसबुकबाट कमेन्ट गर्नुहोस्