महराबिरुद्ध रोशनीको जाहेरी, पक्राउ गर्ने तयारी
यौन दुव्र्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध पिडित भनिएकी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् ।
महराले जबरजस्ती करणीको प्रयास गरेको अभियोग लगाउँदै पीडित रोशनी शाहीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । रोशनीले महरा बिरुद्ध जाहेरी दिएको कुरा काठमाडौं प्रहरीका एक अधिकृतले समेत पुष्टि गरेका छन् ।
यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पौने ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।
महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् ।
यद्यपि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो । अब पीडित महिलाले जाहेरी दिएसँगै अनुसन्धान अघि बढाउन प्रहरीलाई सहज भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं ।’
कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार अब महरालाई पक्राउ गर्ने प्रहरीको अन्तिम तयारी छ ।
यसअघि शुक्रबार मात्र मानवअधिकार आयोगले यसबारे भइरहेको अनुसन्धानबारे प्रहरीसँग जानकारी मागेको थियो भने प्रहरी अनुसन्धान ठीक भए नभएको अनुगमन गर्न टोली नै बनाएको छ । अन्तराष्ट्रिय समुदायले पनि संयुक्त वक्तव्य जारी गर्दै महरा प्रकरणबारे उल्लेख नगरी यौन हिंसाका घटनाहरुको निश्पक्ष छानविन गर्न माग गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्