नर्सका पिडाः ८ लाख खर्च गरेर १० हजार तलव
विश्व नर्सिङ दिवस आज शनिबार संसारभरि मनाइँदै छ । नर्सिङ सेवाको सुरुआत गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मदिनमा मनाइने नर्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ ।
अस्पताललाई सफा राख्न र बिरामीको सम्मान तथा भावनालाई कदर गर्न नाइटिंगेल नै सुरुआत गरेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी कम्युनिटी नर्सिङ अधिकृत कविता अर्यालले भनिन, ‘आज उनले दिएको ज्ञान र सीपलाई विश्वभरका नर्सहरूले अंगालिरहेका छन ।’
तर, नर्सहरूले पाउने सेवा, सुविधा भने कामअनुसार उपयुक्त छैन । उनीहरूले पढाइमा लाग्ने खर्चको तुलनामा कम पारिश्रमिकमा काम गरिरहनुपरेको छ । यस वर्ष नर्सिङ दिवसको नारा ‘स्वास्थ्य एक मानवअधिकार’ भन्ने छ ।
नर्सिङ क्षेत्रका जानकारहरूका अनुसार नर्स बन्न नेपालमा चारदेखि आठ लाख रुपैयाँसम्म लाग्ने गरेको छ । वीर अस्पतालकी नर्सिङ अधिकृत रमिला चौलागाईंले नर्स बन्न एकिन रकम नतोकिएको बताइन । सिटिइभिटीबाट मान्यता प्राप्त निजी कलेजहरूले फरक–फरक शुल्कमा नर्सिङ पढाइ गर्छन ।
निजी अस्पतालमा चारदेखि आठ लाखसम्म खर्च हुने गरेको उनले बताइन । सरकारी स्वास्थ्य संस्थाले भने दुईदेखि तीन लाखसम्म लिने गर्छन । तर, खर्च अनुसारको नर्सले तलब पाउँदैनन् । उनले भनिन्–‘नर्सलाई मासिक १० देखि ११ हजार रुपैयाँ तलब दिन्छन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्