सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलात्कार प्रयासको आरोपमा पक्राउ परे महरा

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आईतबार साँझ उनकै सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाण्डौले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । महरालाई पक्राउ गरेर सिधै काठमाण्डौ प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको छ । उनलाई टेकु प्रहरी कार्यालयमै राखेर प्रहरीले अनुसन्धान गर्नेछ ।

Krishna Bahadur Mahara

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराबिरुद्ध बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी दिएपछी प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछी प्रहरीले महरालाई पक्राउ गरेको हो ।

Krishna Bahadur Mahara

महरामाथि असोज १२ गतेको साँझ संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको अभियोग छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनले दाबी गरेकी छिन् । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

Krishna Bahadur Mahara

त्यसको भोलिपल्ट मात्रै यो घटना बाहिर आएको थियो । महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसबेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखेको दाबी गरेका थिए ।

Krishna Bahadur Mahara

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भएको थियो । जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरेकी थिईन् ।

Krishna Bahadur Mahara

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गएकी थिईनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

त्यसपछी असोज १६ गते पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको कुरा सार्वजनिक भयो । तर घटनाले त्यसबेला फेरि यू–टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।

Krishna Bahadur Mahara

फेसबुकबाट कमेन्ट गर्नुहोस्