सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बलात्कार प्रयासको आरोपमा पक्राउ परे महरा

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आईतबार साँझ उनकै सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाण्डौले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । महरालाई पक्राउ गरेर सिधै काठमाण्डौ प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको छ । उनलाई टेकु प्रहरी कार्यालयमै राखेर प्रहरीले अनुसन्धान गर्नेछ ।

Krishna Bahadur Mahara

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराबिरुद्ध बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी दिएपछी प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछी प्रहरीले महरालाई पक्राउ गरेको हो ।

Krishna Bahadur Mahara

महरामाथि असोज १२ गतेको साँझ संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको अभियोग छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनले दाबी गरेकी छिन् । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

Krishna Bahadur Mahara

त्यसको भोलिपल्ट मात्रै यो घटना बाहिर आएको थियो । महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसबेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखेको दाबी गरेका थिए ।

Krishna Bahadur Mahara

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भएको थियो । जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरेकी थिईन् ।

Krishna Bahadur Mahara

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गएकी थिईनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

त्यसपछी असोज १६ गते पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको कुरा सार्वजनिक भयो । तर घटनाले त्यसबेला फेरि यू–टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।

Krishna Bahadur Mahara

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS