चिनियाँ राष्ट्रपतीसँग के–के माग्दै छ नेपालले ?
चिनियाँ राष्ट्रपती सी जिनपिङको नेपाल भ्रमणबारे चर्चा हुन लागेको लामै समय भईसक्यो । लामो पर्खाई र कौतुहलताका बीच अन्तत; उत्तरी छिमेकी राष्ट्र चीनले आफ्ना राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारेको यात्रा सार्वजनिक गरेको छ ।
चिनियाँ राष्ट्रपती सी जिनपिङ भारत हुँदै काठमाडौं आउने निश्चित भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले अक्टोबर ११–१३ मा नेपाल र भारतको भ्रमण गर्ने घोषणा गरेकी हुन् ।
बेइजिङमा घोषणा भएको केही मिनेटमा परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सी दुई दिने भ्रमणमा आगामी शनिबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उनी आउन लागेका हुन् ।
चीनबाट २३ वर्षपछि यो उच्च स्तरको भ्रमण हुन लागेको हो । सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन । सीले दक्षिण भारतमा एक रात बिताउने छन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गर्ने बताइएको छ ।
चेन्नाईबाट ६५ किलोमिटर टाढा रहेको ममल्लिपुरममा डुंगा सयर गर्दै हुने अनौपचारिक वार्तालाई ‘उहान दोस्रो’ भनिएको छ । त्यसमा भारत र चीनको मात्र नभएर दक्षिण एसियाको विषयमा पनि छलफल हुनेछ । चीन यतिबेला ‘एसिया पहिलो’ को लक्ष्यमा लम्किरहेको र भारतसँग यसमा सहकार्य अनि नेपाललाई द्वार बनाउन अग्रसर छ ।
चिनियाँ अध्येताहरूले नेपालमा चीनको उच्चस्तरको भ्रमण नहुँदा र मन्त्री स्तरबाट मात्र सहकार्य गर्न खोज्दा बेवास्ता गरेको र पश्चिमा शक्ति नेपालमा हावी हुँदै गरेको लगातार प्रतिवेदनपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जुरेको हो । सीले अघिल्लो कार्यकालमा नेपाल भ्रमण गरेका थिएनन् ।
यसअघिका राष्ट्रपति हु जिन्ताओले पनि आफ्नो दुई कार्यकालमा नेपाल भ्रमण गरेका थिएनन् । उनले अन्तमा झारा टार्न आफ्ना प्रधानमन्त्री वेन जियावाओलाई खाडी मुलुक जाने क्रममा पाँच घण्टाको लागि काठमाडौं पठाएका थिए । यहाँ राजनीतिक स्थायित्व कायम भएकाले पनि यो भ्रमणलाई बेइजिङले उपयुक्त ठर्हयाएको हुनसक्ने अधिकारीहरु बताउँछन् ।
बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने प्रवक्ताले घोषणा गरेकी छिन् । यसले विश्वमा नै अर्कै सन्देश जानेछ । नेपाल–भारत–चीन त्रिदेशिय सहकार्यको कुरा भइरहँदा चिनियाँ राष्ट्रपतिले भारत र नेपालको भ्रमण गर्नु अर्थपूर्ण छ ।
नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले जनाएका छन् ।
चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवाले भनेकी छिन्–‘राष्ट्रपति सी जिनपिङ भारतको तमिलनाडु राज्यको चेन्नई नजिकै ममल्लिपुरममा भारतीय प्रधानमन्त्री मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन् ।’
सीको भ्रमण तालिका सार्वजनिक भएपछी अधिकारीहरु नेपाल र चीनबीचको सहकार्यको खाका बनाउन ब्यस्त भएका छन् । सुरक्षा अधिकारीहरू सुरक्षा प्रवन्धमा जुटेका छन् । प्रेस पासदेखि अनेकन कार्य अघि बढेको छ ।
सरकारले विपक्षी दल तथा विज्ञहरुसँग छलफल नगरेको विषयमा भने चर्को आलोचना भइरहेको भएपनि सबैले छिमेकबाट हुन लागेको भ्रमणलाई दलगत स्वार्थ नभै मुलुकको स्वार्थ हेरेर काम गर्न सुझाउँदै आएका छन् ।
उनले भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग बेग्लैबेग्लै दुईपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीसँगको भेटवार्तामा केही सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ । अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।
पूर्वपश्चिम रेलमार्गमा ठूलो सहायता दिँदै
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ । बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीहरुले जनाएका छन् ।
भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन् । उनीहरूका अनुसार चीनले पूर्वपश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी रहेको छ ।
केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ । नेपालले त्यही प्राथमिकता बुझेर तयारी अघि बढाएको हो ।
तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ । यस अलवा अन्य सहायताको विषयमा पनि छलफल हुने अधिकारीले बताएका छन् ।
किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण पनि एजेन्डामा समावेश छ । यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा उनका पति महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ । सीको भ्रमणको लागि परीक्षण उडान सुरक्षा प्रबन्ध होटलको ब्यवस्था सबै सरकारले तय गरिसकेको छ ।
सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने र टुँडिखेलमा राजकीय सम्मानको सलामी दिने तयारी भइरहेको छ ।
सीले आफूलाई आवश्यक पर्ने सवारी साधान आफैं लिएर आउने छन् । उनका सुरक्षाकर्मी पनि काठमाडौंमा रहने छन् भने नेपाली सेनाको नेतृत्वमा सुरक्षा दिइने बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्