सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कास्की–२ बाट विद्याको राजनीतिमा पुनरागमन

तत्कालिन प्रतिनिधिसभा सदस्य तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछी रिक्त रहेको कास्की क्षेत्र नं. २ मा हुने उप–निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकारीकै श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो । स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् ।

Biddhya Bhattarai

कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफारिस गरेको थियो । तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कलीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि मंसिर १४ मा कास्की २ मा उपचुनाव हुन लागेको हो । नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् । तर यो उपचुनाव विद्याको राजनीतिमा प्रवेश होइन, पुनरागमन हो ।

तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । त्यसबेला रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिइन् ।

पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उप–प्राध्यापक पदमा कार्यरत थिइन् । रवीन्द्रको निधनपछि नेकपाका शीर्ष नेताहरु, कार्यकर्ता र शुभचिन्तकले उनलाई राजनीतिमा आउन आग्रह गरे ।

उनले पनि चुनाव लड्ने मनस्थिति बनाइसकेकी थिइन् । तर एकाएक नेकपा नेता बामदेव गौतमले कास्की २ बाट उपचुनाव लड्न जोड गरेपछि विद्याको उम्मेदवार अन्यौलमा पर्यो । चौतर्फी आलोचनापछि बामदेव पछि हटे र राजनीतिमा विद्याको पुनरागमन पक्का भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्