सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यी रहेछन् गाडीले ठक्कर दिएर भाग्ने सञ्चार राज्यमन्त्री

बानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको झण्डावाल गाडीमा सवार मन्त्रीको पहिचान खुलेको छ । ठक्कर दिएर भाग्ने झण्डावाल गाडी सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको भएको खुल्न आएको छ ।

राज्यमन्त्री सवार बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीले ठक्कर दिँदा बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घटना लगतै सर्वसाधारणले गाडीलाई घेरेपछि मन्त्रीलाई उद्दार गरेर प्रहरीले भगाएको थियो ।

प्रहरी स्रोतका अनुसार ठक्कर दिने गाडी सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको हो । मोटरसाईकललाई ठक्कर दिएको बेला सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट आफै गाडीमा थिए ।

मन्त्रीको गाडीले ठक्कर दिएर घाइते हुनेहरुमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ रहेका छन् । घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि केहीबेर बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

राज्यमन्त्री विष्टले आफ्नो गाडी दुर्घटनामा परेको स्वीकार गरेका छन् । उनले भने, ‘म सवार गाडीमा मोटरसाइकल ठोक्किएको हो ।’ दुर्घटनापछि उद्दार नगरी किन हिँडेको भन्ने प्रश्नमा बिष्टले भने, ‘त्यहाँ ओर्लिएर उद्दार गर्ने वातावरण नै थिएन । म पनि मान्छे हुँ । चिन्ताग्रस्त छु । कहाँ के भइरहेको छ सोधखोज गरिरहेको छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्