सहमतीमा यौनसम्पर्क, पैसाको विवादपछी हत्या
मृत अवस्थामा भेटिएकी तेस्रो लिंगी अजिता भुजेलको हत्या यौन सम्पर्कपश्चात् पैसाको विषयमा विवाद हुँदा भएको खुलासा भएको छ । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–क्याम्पाडाँडास्थित कान्ति लोकपथमा फेला परेको थियो ।
प्रहरीले हत्या भएको १८औं दिनमा मंगलबार हत्यामा संलग्न रहेका पाँच जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार ना.६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र सुशील थापा मगरले भुजेलसँग हेटौंडा–११ थानार्भयाङमा शारिरीक सम्पर्कका लागि ७ हजार रुपैयाँमा सहमति गरेका थिए । तर पैसा दिने बेलामा विवाद भएपछी उनीहरुले अजिताको हत्या गरेका थिए ।
उनीहरूले हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको बयानमा खुल्न आएको छ । घटनामा संलग्न २ जना अँझै फरार रहेका छन् । मकवानपुरका एसपी सुशीलसिंह राठौरले भनेका छन्–‘यौन सम्पर्कमा संलग्न चारैजनाले एउटै ट्रकको प्रयोग गरिएको अनुसन्धानको क्रममा देखिएको छ । अरु दुई जना अर्कै ट्रकका रहेको र तिनीहरुको पहिचान अँझै खुलेको छैन ।’
सिमोन परियारले ल्याएको ट्रकको क्याबिनमा चारै जनाले यौन सम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको प्रहरीले बताएको छ । अजिताले सहमतिअनुसार पैसा मागेपछि विवाद भएको र उनीहरुले ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नले दिएको बयान अनुसार अजिताको मृत्यु भएपछि त्यही ट्रकमा राखेर क्याम्पाडाँडामा लगेर फालिएको थियो । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो ।
अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । एसपी राठौरले भने–‘अजिताको हराएको मोबाइल एलिसाले आफ्नो सिम हालेर प्रयोगमा ल्याएपछि हामी घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका हौं ।’
प्रहरीका अनुसार एलिसाले माघ २० गते सोमबार मोबाइल प्रयोगमा ल्याएकी थिइन् । मोबाइल प्रयोगमा आएपछि मकवानपुर प्रहरी र महानगरीय प्रहरी महाशाखा टेकुबाट आएको टोलीले अनुसन्धानलाई तीव्र पारेका थिए । घटनापश्चात् करिब दुई सय ५० जनासँग सोधपुछ गरिएको थियो ।
घटनामा संलग्न मुख्य अभियुक्त तथा ट्रकका सहचालक सिमोन परियारले बयानको क्रममा आफूलाई दिउँसैबाट साहुले दुःख दिएको झोंकमा ट्रक पल्टाउन हिँडेको बताएका छन् ।
एसपी राठौरले भने–‘कुनै स्थानमा लगेर ट्रक पल्टाउने मनसायले सहचालक हिँडेको देखिन्छ । उक्त क्रममा चिया खान हेटौंडा–१०, बसपार्कमा आएपछि साथी सुशीलसँग भेटभएपछि यौन सम्पर्क गर्ने योजनाको साथ घटनास्थलमा पुगेको देखिन्छ ।’
सहचालक परियार साहुलाई नसोधी राति दश बजे ट्रक लिएर बसपार्क आएका थिए । ट्रक पल्टाउने स्थान नभेट्दा चिया खानका लागि बसपार्क आएका थिए । एसपी राठौरका अनुसार सुशील चोरी मुद्धामा तीन वर्ष जेल बसेर भर्खरै निस्किएका हुन् ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर मृतक भुजेलसँग पैसाको विषयमा सहमतिपश्चात् अर्को सवारीका दुईजना समेत गरी चारजनाले पालैपालो यौन सम्पर्क गरेका थिए । यौन सम्पर्कपश्चात् विवाद भएपछि उनको हत्या गरिएको थियो। हत्यामा संलग्न अर्को सवारीको नम्बर र चालक तथा सहचालकको अझै नाम खुल्न सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्