आफ्नै साथीको बुढिमाथी एसिड र चक्कु आक्रमण
बलात्कार र हत्या नेपाली समाजको दैनिकी जस्तै बनेको छ । राजधानी र नेपालको तराई क्षेत्रमा भएका बलात्कार र हत्याका घटनाले अहिले नेपाली समाजको यस्तै चरित्रलाई इंगित गरेको छ ।
एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको उपचारकै क्रममा मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । मुटु नै काँप्ने यो जघन्य अपराधले नेपाली समाजको अपराधिक चरित्रलाई उदांगो बनाईदिएको छ ।
एसिड आक्रमण र चक्कु प्रहारको अमानविय र जघन्य अपराधको सिकार बनेकी नवलपुरको कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियार यतिबेला भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छिन । उनको अवस्था गम्भिर रहेको डा. सुरेश प्रधानले जानकारी दिएका छन ।
चिकित्सकले दिएको जानकारी अनुसार एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको चिकित्सकले बताएका छन ।
देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा. प्रधानले बताएका छन । अन्य स्थानको घाउ भन्दा यो गम्भिर हेको डा. प्रधानले जानकारी दिएका छन । छुरा प्रहारबाट देव्रे तर्फको पेटबाट सानो आन्द्रा बाहिर निस्किएको डा प्रधानले बताएका छन ।
बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन । प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन ।
नवलपुरका प्रहरी प्रमुख रमेश थापाले योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको बताएका छन । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका प्रहरीसँग बताएका छन । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलले प्रहरीसँग बताएका छन ।
एसिड र चक्कु आक्रमण परेकी बसन्तीको भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ ।
सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको हो । उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिडका साथै चक्कु प्रहार भएको पाइएको छ । दायाँ गालाको हड्डी फुटेको छ ।
बिमलले बसन्तीको देव्रेतर्फको पेटमा प्रहार गरेको छुराले सानो आन्द्रा बाहिर आएको थियो । त्यसको अप्रेशन गरिएको डा. प्रधानले बताएका छन । एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको छ ।
एउटा आँखामा पुरै क्षति भएको जस्तो देखिएको चिकित्सकले बताएका छन । एसिडको असर श्वासप्रश्वासमा पुग्न सक्ने हुँदा समस्या जटिल पनि हुन सक्ने डा. प्रधानले बताएका छन । चिकित्सक डा. प्रधानले भने–‘अहिले यसै भन्न सकिने अवस्था छैन, अवस्था स्टेबल छ ।’
श्रीपालीले कसरी गरे त वसन्तीमाथी एसिड आक्रमण ?
बसन्ती परियार र बिमल शिर्पाली छिमेकी हुन । बसन्तीका एक छोरा र एक छोरी छन । श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा थिए । उनी हालै मात्र नेपाल फर्किएका छन ।
आइतबार बसन्तीकी छोरी रितिषा चाउचाउ किन्न जाँदा बिमलले कुटपिट गरेका थिए । उनी रुँदै घर फर्किइन । तर, जिस्काउँदा रोएकी होला भनेर अभिभावकले वास्ता गरेनन । साँझतिर नजिकैको बजारमा तरकारी किन्न भनेर बसन्ती सँगै बस्दै आएकी मामाकी छोरी अनुलाई लिएर गइन ।
तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिए । उनी अत्तालिएर छट्पटाउन थालिन । त्यसपछि बिमलले तरकारी काट्ने चक्कुले बसन्तीको अनुहार, छाती, पेटमा जथाभावी छुरा हाने ।
अनुले छुट्टाउन खोज्दा उनीमाथि पनि चक्कु प्रहार भएको छ । भरतपुर अस्पतालमा उपचाररत अनुको हातमा ४ वटा टाँका लगाइएको छ । बसन्तीका श्रीमान यमनारायण र बिमल साथी हुन । उनीहरुले १२ बर्ष अघि १४ दिनको फरकमा बिहे गरेका थिए । झण्डै उस्तै समयमा उनीहरु विदेश गएका थिए ।
बिमल साउदी अरबबाट ५ महिना अघि नेपाल फर्किएका हुन । उनकी श्रीमतीले भने सन्तानसहित माइतमा बस्दै आएकी छन । श्रीमतीसँग डिभोर्स गर्ने प्रक्रियामा रहेका विमलले आफ्नो श्रीमतीलाई आँखा लगाएको हुनसक्ने यमनारायणले बताए । यही कारण यो घटना भएको पो हो की भन्ने आशंका उनको छ ।
बहिनी बसन्तीलाई भेट्न भरतपुर अस्पतालमा आएकी दिदी मिठुले बिमल र आफूहरुबीच नराम्रो केही नभएको बताइन । वसन्तीकी दिदी मिठुले भनिन्–‘आउने जाने त सामान्य कुरा हो, हामी त देवर बाबु भनेर नै बोल्थ्यौं, तर उसले नराम्रो सोचेको रहेछ ।’
बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेका छन । भरतपुर अस्पतालमा वसन्तीका श्रीमान यमनारायणले भने–‘मलाई पैसा वा क्षतिपूर्ति चाहिएको छैन, जति खर्च लाग्छ म नै व्यहोरौंला तर, उसलाई पनि यस्तै गराउनुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्