राम्रो गर्यौँ भन्ने सोचेका छौँ तर जनतामा निराशा
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको घोषणा र जनताले गरेको अनुभूतिबीच ठूलो विरोधाभास रहेको बताएका छन् । राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार गरेको कार्यक्रममा उनले आफूले माथिबाट गरेको घोषणा र तल पिँधमा जनताले गरेको महसुसको बीचमा ‘कन्ट्राडिक्सन’ देखेको बताएका छन् ।
प्रचण्डले भनेका छन्–‘जनताले अर्कै महसुस गरिरहेको छ । हामी माथि निकै राम्रो गरेका छौं भन्ठानेका छौं । हाम्रो नियत खराब छैन होला, हामीले राम्रो गर्न खोज्यौं होला, तर राम्रो गर्न खोज्नु एउटा कुरा हो । राज्यको हैसियतले जनताले त्यो कुरा महसुस गर्नु अर्को कुरा हो ।’
जनताले महसुस नगर्दासम्म हामीले राम्रो र्गयौं भन्नुको औचित्य पुष्टि नहुने प्रचण्डले बताएका छन् । प्रचण्डले सरकारको काम कारबाही उल्टो दिशामा त छैन भन्ने प्रश्न पनि उठाएका छन् ।
‘कतै हामी उल्टो दिशामा हिँडेका त छैनौं ? हामीले झन् मध्यमवर्गलाई करमाथि कर थोपरेर उनीहरुको ढाड सेक्ने दिशामा त छैनौं,’ प्रचण्डले प्रश्न गरे, ‘दलाल नोकरशाहहरुले मज्जाले एकाधिकार कायम गर्ने वातावरण बनेको त छैन ?’
सरकारले यस्ता विषयमा निर्ममतापूर्वक आत्मचिन्तन र आत्मसमीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो,’ प्रचण्डले भने, ‘तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’
जनताले भ्रष्टाचार झन् बढेको महसुस गरिरहेको भन्दै प्रचण्डले कर प्रणाली पनि जनताको पक्षमा नभएको टिप्पणी गरेका छन् । उनले भने–‘कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिन्छ । जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता–कता उकुसमुकुस भएजस्तो स्थिति छ ।’
नाकाबन्दीविरुद्धको संघर्षमा जनताले भोकभोकै पनि साथ दिएको भन्दै प्रचण्डले अहिले बेस्सरी र्गयौं भनेका बेलामा जताततै निराशा देखिएको बताए । उनले भने–‘अहिले बेस्सरी र्गयौं भनेका छौं तर जताततै निराशा छ भने यहाँ केही चिज ठीक भइराख्या छैन भन्ने देखाउँछ ।’
कम्युनिस्ट पार्टीको सरकारले राष्ट्रिय पूँजीपति र गरिबलाई नरम खालको कर नीति लागू गर्नुपर्नेमा यस्तो महसुस नभएको प्रचण्डले बताएका छन् । आफूले सरकारप्रति सकारात्मक सोचका साथ यी कुरा भनेको भन्दै प्रचण्डले भने–‘जति खुलेर छलफल र्गयो, जति गर्न सक्यो त्यति सरकारलाई र पार्टीलाई फाइदा हुन्छ ।’
वरिपरि बस्ने र भक्ति गाउनेहरुबाट नेताहरुसमेत खतरामा रहेको भन्दै प्रचण्डले धर्ती छोड्ने र आकाशमा पुग्ने खतरा नेतामा झन् बढी हुने टिप्पणी गरे । आउने दुई–तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिस्ट पार्टी भन्दैमा भोट नदिने पनि प्रचण्डले बताएका छन् ।
‘जनतालाई कम्युनिस्ट र कांग्रेस त्यतिधेरै मतलब हुँदैन भन्ने देख्यौं नि त हामीले, जनताले जसलाई पनि उखेलेर फालिदिन्छ,’ उनले भने, ‘कम्युनिस्ट साइनबोर्ड र संविधानमा लेखिएको नाराले हामीलाई बचाउँदैन, हाम्रो व्यवहारले बचाउने हो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्