कोरोनाको आशंकामा दुई जना टेकु अस्पताल भर्ना
कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
कोरोना संक्रमणको आशंकामा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका हुन् । बास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएको बताइएको छ ।
कोरोना संक्रमणको आशंकामा गत आइतबार भर्ना भएका ४ जनाको रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज गरिदिएको छ । डिस्चार्ज हुने चारै जना नेपाली नागरिक हुन् ।

डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ ।
दक्षिण कोरिया, जापान, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृ*त्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्