पक्राउ परे बलात्कार आरोपि पुर्वडिएसपि खिउजु
नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । राईले अनलाइनखबरसँग भनेका छन्–‘पक्राउ गरेर ल्याएका छौं । अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।’
प्रहरीले पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखेको छ । प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।
‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुव्र्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्–‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’
पहिला गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनले बताएकी थिइन् ।
यसबारे प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा जानकारी गराए पनि कारबाही अघि बढेको थिएन । त्यसपछि एक गैरसरकारी संस्थाको सहयोगमा पीडितले २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी दर्ता भएसँगै २३ माघमा खिउजूलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो । तर, उनी विभिन्न ठाउँमा लुक्दै आएका थिए । फरार रहेकै अवस्थामा उनले जाहेरी फिर्ता लिन भन्दै पीडितलाई धम्की समेत दिएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्