सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोविन्दराज जोशिसहित ३ जना कांग्रेसबाट निस्कासित

नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । कांग्रेस अनुशासन समितिको शनिबारको बैठकले तनहुँका गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादुर विष्टलाई कारवाही गरेको हो ।

जोशीलाई तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोप थियो । २०७४ सालमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका जोशीको उम्मेद्वारी खारेज भएको थियो । रामचन्द्रले पौडेलले तनहुँमा नेकपाका किसान श्रेष्ठसँग चुनाव हारेका थिए ।

यस्तै कैलालीमा आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेका महासमिति सदस्य तथा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई पनि कांग्रेसले कारवाही गरेको छ । जोशी र ओझालाई पाँच वर्ष कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी अनुशासन समितिले कारवाही गरेको हो ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा जिल्ला कार्यसमितिका सचिव रामबहादुर विष्टलाई तीन वर्ष साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस अनुशासन समितिले गत फागुन १९ गते तीनै जनालाई स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै कारवाही गरिएको हो ।

कांग्रेस अनुशासन समिति संयोजकमा भीष्मराज आङ्दम्बे छन् । पाँच सदस्यीय अनुशासन समितिमा सभापति देउवादेखि शीर्ष नेताहरू विरूद्ध पनि अनुशासन उलंघन आरोपमा उजुरी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्