मनमोहन अस्पतालको मृगौला चोरी काण्ड संसदमा
मनमोहन अस्पतालबाट भएको विरामीको ‘मिर्गौला चोरी’ प्रकरणले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले देशवासी स्तब्ध भएको बताए ।
उनले भने, ‘अस्पतालको बकपत्र पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’ यो विषयमा छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने उनले बताएका छन ।
कांग्रेस सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाढ्य हुने माध्यम बनाउन दिन नहुने बताएका छन् । उनले बिरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्यो भन्ने प्रश्न समेत गरेका छन ।
नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । उपचारका नाममा आफ्नो मिर्गौला चोरी भएको उनले बताएका छन् ।
तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्