माओवादीले छोरा मार्यो, काँग्रेसले श्रीमान
छोराको हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गङ्गामायाले आफू अँझै न्यायको आशामा रहेको बताउनुभएको छ । वि.सं २०६१ जेठ २४ गते तत्कालीन नेकपा (माओवादी)ले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले अनशन सुरु गर्नुभएको थियो ।
अनशन सुरु गरेको ३३३ दिनमा गंगामायाँका श्रीमान नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।
उहाँले भन्नुभयो, “मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मार्यो, काँग्रेसले श्रीमान तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्यु पश्चात निस्कन्छु ।”
कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एनेकपा (माओवादी)का नेताको विरोध र धम्कीका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्