सर्वोच्चले माग्यो लोकमान नियुक्तिको सक्कल
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा र २०६२–६३ सालपछि सरकारले सोधेको स्पष्टीकरणको सक्कल कागज पेश गर्न सरकारलाई निर्देशन दिएको छ । फैसला पुनरावलोकनको अनुमति दिने कि नदिने भन्ने निर्णय गर्नुअघि न्यायाधीशत्रयको इजलासले सक्कल कागज माग गरेको हो ।
यसअघि सर्वोच्चले अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विरुद्धको रिट खारेज गर्ने फैसला गरेको थियो । न्यायाधीशत्रय दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको ईजलासले सरकार र सामान्य प्रशासन मन्त्रालयलाई सक्कल कागज पेश गर्न भनेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभएको छ ।
अख्तियार प्रमुखमा लोकमानको नियुक्तिको सक्कल कागज प्राप्त भएपछि सर्वोच्चले त्यसको अध्ययन गर्नेछ र सोही आधारमा उहाँको नियुक्तिमाथि पुनरावलोकन हुनुपर्छ कि पर्दैन भन्ने निष्कर्षमा अदालत पुग्नेछ । पुनरावलोकन गर्नुपर्ने देखिए लोकमानको नियुक्ति संवैधानिक हो वा होइन भन्नेमा फेरि अदालतमै बहस सुरु हुने छ ।
लोकमानसिंह कार्की अख्तियार प्रमुखमा नियुक्त भएको ४ दिन पछी योग्य नभएको दावी गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा जनआन्दोलन दबाउन भूमिका खेलेको, रायमाझी आयोगले कारबाहीको सिफारिस गरेको आदी कारण देखाएर नियुक्ति बदरको माग गरिएको थियो ।
न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले २०७१ असोज ८ गते नियुक्ति कानुनसम्मत भएको भन्दै रिट खारेजको फैसला सुनाएको थियो । फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले पुनरावलोकन गरीपाउँ भनी थप प्रमाणका साथ निवेदन दिनुभएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्