सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गच्छेदारको पार्टीलाई सरकारको ढोका बन्द

वली सरकार ढालेर नया गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रले विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । मधेसी मोर्चालाई विश्वासमा लिनका लागी गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने गठबन्धनका नेताहरुले बताएका छन् ।

गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भड्कन सक्ने कांग्रेस–माओवादी केन्द्र गठबन्धनको आशंका छ । गठबन्धनले तत्काललाई राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माणको तयारी थालेका छन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो ।

Bijaya kumar gachchhedar

कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छेदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छेदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा कांग्रेस र माओवादी सहित १६ दल छन् । जसमा मोर्चा सम्मीलीत सात दल छन् । कांग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउने छ । सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास गठबन्धन दलको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्