सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

देशभर बाढीपहिरोको बितन्डा, ३७ बढीको मृत्यु

अविरल बर्षासँगै देशैभरी बाढीपहीरोले बितन्डा मच्चाउँदा यो समाचार तयार पार्दासम्म ३७ जनाको ज्यान गएको जानकारी प्राप्त भएको छ भने लाखौँको धनमाल क्षति भएको छ । लगातार परेको मुसलधारे बर्षासँगै देशैभरीका खोलानालामा पानीको बहाव उच्च हुँदा जनजीवन अस्तव्यस्त बनेको छ ।

वर्षापछिको बाढीपहीरोमा परी सबैभन्दा धेरै प्युठानमा १४ जनाको ज्यान गएको छ भने २४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय सञ्चार माध्यमले भने १७ जनाको ज्यान गएको बताएका छन् ।

देशका बिभिन्न भागमा बाढीपहीरोले पुर्याएको क्षतिको विवरण आउने क्रम जारी नै छ । गुल्मीको हस्तीचौर गाविसको माल्दीमा मंगलबार बिहान भीमबहादुर दर्जीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४९ वर्षीया तुलसी, बुहारी १९ वर्षीया अस्मिता दर्जी र दिदी ६५ वर्षीया कालिका दर्जीको मृत्यु भएको छ ।

गुल्मीकै विशुखर्क–९ मा रहेको गोपाल राणाको घर पहिरोले पुरिँदा उनका ८ वर्षीय छोरा सुजन राणा र ६ वर्षीया छोरी सीमाना राणाको मृत्यु भएको छ । त्यस्तै वाङदीमा पहिरोमा परी २ जनाको ज्यान गएको छ ।

अविरल बर्षाका कारण कपिलवस्तुमा आएको बाढि

पाल्पामा वर्षासँगै आएको पहिरोले घर पुरीँदा गोठादी–५ दमारका ४५ वर्षीय तमबहादुर कनौजे, उनकी श्रीमती २३ वर्षीया खगिसरा कनौजे र १० वर्षीया छोरी योशदा कनौजेको घरभित्रै च्यापिएर ज्यान गएको छ । त्यस्तै दोभान–१ झुम्सामा घर माथिबाट खसेको पहिरोले पुरिएर १५ वर्षीया अस्मिता विकको ज्यान गएको छ ।

सिद्धार्थ राजमार्गका ठाउ–ठाउँमा खसेको पहिरोले तानसेन–बुटवल सडक बन्द भएको छ । तीनाउ खोलामा आएको बाढीले पुल बगाएको छ ।

मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा मनमाया स्याङतानको घर पहिरोले पुरिँदा उनका छोरी, ज्वाइँ र नातीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेका छन् । छोरी, ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने सकुसल छिन् ।

उता झापामा लगातार आएको बर्षाका कारण आएको बाढी पहीरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । नदीमा आएको बाढीले बगाएर ३ जना बेपत्ता भएका छन् । गेउरिया खोलाले बगाएर झापा तोपगाछीकी ७० वर्षीया जयकुमारी राईको मृत्यु भएको छ ।

त्यस्तै गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्काको पनि बाढीमा परी ज्यान गएको छ ।

झापाकै माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डी बेपत्ता छन् । झापामा ६६९ घर डुबानमा परेका छन भने सयौँ विस्थापीत भएका छन् ।

बर्षाका कारण कोशी नदीमा बढेको बाढीको बहाव

सुनसरीमा अविरल बर्षाका कारण ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७ सय घर डुबानमा परेका छन् । सप्तकोसी नदीमा मंगलबार यस वर्षकै उच्च प्रतिसेकेन्ड दुई लाख ७७ हजार ४१० क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको छ । अहिले ब्यारेजका ५६ ढोकामध्ये ३७ वटा ढोका खोलिएका छन् ।

उदयपुरको रामपुर–२ स्थित गुहे खोलाले बगाएर खोरियाटोलकी कालीमाया राईको मृत्यु भएको छ । त्यसैगरी, तपेश्वरी–१ बस्ने मानबहादुर प्रधानका १३ वर्षका छोरा ऋतु प्रधानको सोमबार अपराह्न घरनजिकै पानीको खोल्सामा डुबेर मृत्यु भएको छ ।

सप्तरीमा कोबर्साईन–४ स्थित स्थानीय खोलाले बगाउँदा विराटनगर निवासी २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार बाग्लुङमा पहिरोमा परेर राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको छ । सन्तबहादुर र उनकी श्रीमती सुशीला तामाङ गम्भीर घाइते भएका छन् ।

यस्तै बाग्लुङकै दर्लिङ–२ मा पहिरोले घर पुरिँदा हर्कबहादुर बुढामगरकी १८ वर्षीया छोरी यमुना बुढामगरको मृत्यु भएको छ । हर्कबहादुरकी श्रीमती देवी बुढामगर र छोरा राजु बुढामगर पहिरोमा परी बेपत्ता भएका छन् । गोठ भत्किएर दर्लिङ–९ का ७८ वर्षीय दके पुनको मृत्यु भएको छ ।

बाढीका कारण बढेको राप्ती नदीको बहाव

बर्षासँगै आएको बाढीका कारण अर्घाखाँचीमा घर र गोठ पहिरोले बगाउँदा दुई जनाको ज्यान गएको छ । काठमाडौंमा एक जनाको ज्यान गएको छ । बाँकेको होलियामा बाढीमा परेका ३ सय जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सरकारले बाढीपहिरो पीडितलाई तत्कालका लागि ४० हजार रुपैयाँ र विस्थापितलाई पाल र सुख्खा खानेकुरा वितरण गरेको जनाएको छ ।

नारायणी नदीमा बाढीको सतहले खतराको संकेत पार गरेपछी जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै साइरन बजाइएको थियो । नवलपरासीको गण्डक क्षेत्रमा पनि बाढीको सतहले खतराको संकेत नाघेको छ ।

कपिलवस्तुमा वाणगंगा नदीको बाढी बस्तीमा पस्दा दुई सय घर डुबानमा परेका छन् । वाणगंगा नगरपालिका १२, १३, १४ र १७ का बस्ती डुबानमा परेको स्थानीयले बताएका छन् । पोखरामा सेती नदीमा आएको बाढीले २ ओटा घर डुबानमा परेको र दर्जनौँ घर जोखीममा रहेको बताईएको छ । कास्कीकै हेम्जामा बाढीले एक जनालाई बेपत्ता बनाएको छ ।

राप्ती नदीमा १२ वर्षयताकै ठूलो बाढी आउँदा दाङ, बाँके लगायतका जिल्लाका बस्तीहरु डुबानमा परेका छन् । दाङ देउखुरीको सतबरियामा सबैभन्दा धेरै घर डुबानमा परेका छन् । बाँकेमा पनि राप्ती नदीको बाढीले खतराको संकेत पार गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS