सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापान हुँदै विश्वभर उड्ने भए नेपाली जहाज

नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेदा विमानस्थल बाहेक अन्य विमानस्थलहरुबाट उडान भर्ने अनुमती पाएसंगै जापानका एयरपोर्टलाई आधार बनाई विश्वभर उडान भर्ने भएको छ । नेपाली ध्वजावाहक विमानले अमेरिका बाहेकका सबै देशमा उडान भर्ने अनुमति पाएको छ ।

नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेदा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताएका छन ।

उनले संसद्को विशेष समयमा बोल्दै शुक्रबार भने, ‘जापानसँगको सम्झौतापछि पर्यटकलाई सहजसमेत हुने भएको छ ।’ सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछन । यसअघि २ मात्र उडान हुने व्यवस्था थियो ।

अब नेपाली एयरलाइन्सले ‘फिफ्थ अफ फ्लाइट’ पनि पाउनेछन् । जसअनुसार नेपालले जापानको एयरपोर्ट प्रयोग गरेर अमेरिका बाहेकका मुलुकमा सिधा उडान भर्न पाउने गरी सहमति भएको उनले जानकारी गराएका छन ।

यसअघि नेपाल र जापानबीच ६ फागुन २०४९ सालमा नेपाल–जापान हवाई उडानसम्बन्धी सम्झौता भएको थियो । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामहरि जोशी र तत्कालीन नेपालका लागि जापानी राजदूत चुइची इतोबीच हवाई उडानसम्बन्धी सम्झौता भएको थियो ।

यसैगरी, अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित भएको भन्दै कालोसूचीबाट हटाएको छ । सन् २०१३ बाट नेपाली आकाश हवाई उडानका लागि सुरक्षित नभएको भन्दै कालोसूचीमा राखेको आइकाओले जोखिमको सूचीबाट गत साता हटाएको हो ।

नेपालको उडान सुरक्षामा प्रगति भएको भन्दै आइकाओले यस वर्षको प्रेसिडेन्ट अवार्डसमेत नेपाललाई प्रदान गरेको मन्त्री अधिकारीले सदनमा जानकारी गराएका छन । उनले युरोपियन युनियनले सन् २००९ बाट नेपालको हवाई सुरक्षाको विषयमा प्रश्न उठाउँदै कालोसूचीमा राखेको छ ।

नेपालले आइकाओको अवार्ड प्राप्त गरेपछि युरोपियन युनियनमा समेत कालोसूचीबाट हटाउन पत्राचार गरिएको मन्त्री अधिकारीले जानकारी दिएका छन । युरोपियन युनियनले नेपालको पत्रको जवाफ दिँदै आगामी सेप्टेम्बरमा नेपाली आकाश हवाई उडानका लागि सुरक्षित भए नभएको अध्ययन गर्ने जनाएको छ ।

‘विश्वभरका हवाई उड्डयन संस्थाहरूको साझा संगठनले सुरक्षित भएको भन्दै अवार्ड दिइसकेको अवस्थामा युरोपियन युनियनले पनि कालोसूचीमा हटाउनेछ,’ मन्त्री अधिकारीले भने, ‘कालोसूचीबाट हटेसँगै युरोपमा पनि नेपालले सीधा उडान गर्नेछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्