ज्यान दिन्छौँ तर जमीन छाड्दैनौँ ; खनाल
भारतप्रति नझुकेकै कारण प्रधानमन्त्री केपी शर्मा वलीले सत्ता गुमाएको केही समय नवित्दै पूर्वप्रधानमन्त्री एवम सोही पाटी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि भारत विरुद्ध कडा अभिव्यक्ती दिनुभएको छ । नेपाली स्वाभिमानको सम्मान गर्न आग्रह गर्दै खनालले नेपालीलाई भारतको एक इन्च पनि माटो नचाहिने र आफूहरुले पनि एक इन्च नछोड्ने बताउनु भएको छ ।
सप्तरीको तिलाठीमा भारतीय नागरिकसँग प्रतिरोध गर्नेहरुको सम्मानमा मंगलबार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै खनालले भारतले नेपालीको स्वाभिमानलाई सम्मान नगरे पूर्व मेचीदेखि पश्चिम महाकालीका सबै जनता प्रतिरोधमा उत्रिने चेतावनी दिनुभयो ।
खनालले भन्नुभयो, ‘भारतले एकलौटी रुपमा बनाएका बिभिन्न बाँधले तराईका जनताले दुःख सहनु परेको छ । अहिले तिलाठी बोलेको छ, भोलि झापादेखि कन्चनपुर सबै तिलाठी हुनसक्छ ।’
दशगजा मिचेर बाँध बनाउन खोज्ने भारतीयको तिलाठीबासीले प्रतिरोध गरेका थिए । सो क्रममा भारतीयको आक्रमणबाट नेपालीहरु घाइते भएका थिए । तिलाठी घटनामा घाइते रामनारायण यादव र दुर्गानन्द झालाई राष्ट्रिय स्वाभिमानको लागि युवा अभियान नामक संस्थाले मंगलबार सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै एमाले नेता खनालले भन्नुभयो, ‘आफ्नो स्वाधिनताका लागि नेपालीहरु कसैसँग झुक्दैनन् भन्ने तिलाठीको घटना हो । तिलाठीमा भारतले एकलौटी बाँध बनाएको हो । हामी स्वीकार गर्न तयार छैनौं ।’
देश सानो भए पनि सार्वभौम सानो हुँदैन भन्ने कुरा भारतले ख्याल गर्नुपर्ने खनालले बताउनुभयो । नवलपरासीको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भारतले सीमा मिचेका नेपाली भूमिहरुको नाम लिँदै खनालले तिलाठी घटनाबाट नेपाल र भारतले पाठ सिक्नुपर्ने धारणा राख्नुभएको छ ।
‘तिलाठीले भारत र नेपाल सरकारलाई पाठ सिकाएको छ । जनता उत्रिए भने कुनै पनि गलत काम स्वीकार्य हुन सक्दैन भन्ने यो गतिलो पाठ हो,’ खनालले भन्नुभयो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्