सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आत्महत्या गर्न हिडेकीलाई प्रहरीले बचायो

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा महानगरीय अपराध महाशाखाले युवतीलाई उद्धार गरेको हो । एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोस्ट गरेकी थिइन ।

प्रहरीका अनुसार स्टाटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन् । सो स्टाटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन् । उनको स्टाटस पढेपछि परिवार निकै चिन्तित बन्यो ।

उनका परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो । ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सवै कुरा महाशाखा प्रमुख एसएसपी सवेन्द्र खनाललाई बताएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए ।

कपिलबस्तु स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएकी उनकी आमा र बहीनी सो घटनापछि निकै तनाबमा थिए । उनको आमाको मोबाइलमा भारतीय नम्बरबाट मिसकल आएको थियो । आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए ।

स्रोतका अनुसार भारतीय नम्बर जोगबनी नजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो । खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए ।

रेल्वे स्टेसनमा काम गर्ने ती कर्मचारीले युवती बनारसको रेल चढेर गएको जानकारी दिएपछि खनालले बिहार पुलिसको कटियारस्थित स्टेसनका प्रमुखलाई फोन गरेर सहयोग मागेका थिए । ती युवतीलाई भारतीय प्रहरीले आइतबार साँझ रेलमा यात्रा गरिरहेकै अवस्थामा नियन्त्रणमा लिन सफल भएको हो ।

आगामी बिहीबारबाट परीक्षा रहेका कारण यस विषयमा परीक्षा सकेपछि मात्रै युवतीसँग सोधपुछ गरिने महाशाखाले जनाएको छ । परीक्षा नजिकै आएकाले ती युवती विक्षिप्त भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्