काभ्रे बस दुर्घटनामा मृत्यु हुने ३३ पुगे, ४० घाईते
काभ्रेको विर्तादेउरालीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बस दुर्घटनामा परी ४० जना भन्दा बढी यात्रु घाईते भएका छन् । काभ्रेको कोशीपारी पर्ने विर्तादेउराली–७, खहरेखोला नजिकै बा२ख १०६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका २६ जनालाई उपचारका लागी सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ ल्याईएको छ । एकजनाको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ । घाईतेहरुको काठमाण्डौ स्थित वीर अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ । तीन जनाको काभ्रेको धुलीखेलमा उपचार भईरहेको छ ।
दुर्घटनामा परेको बस पुरानो बसपार्कबाट कोशीपारी देउराली जाँदै गरेको थियो । विर्तादेउरालीको खहरेखोला नजिकै बस उकालो चढ्दै गर्दा एक्कासी ब्याक भई खसेको छतबाट हाम फालेर बाँचेकाहरुले बताएका छन् ।
दुर्घटनामा बाँचेकाहरुका अनुसार उकालोमा गुडिरहेको बस एक्कासी पछाडी गुड्न थालेपछी चालकले सहचालकलाई ढुंगा हालेर बस रोक्न भनेका थिए । सहचालकले हतारहतार ढुंगा हालेपनि बस नरोकीएपछी नानपुरे खोलामा खसेको थियो ।
दुर्घटना स्थलमा उद्धार कार्य भईरहेको काभ्रेका एसपी राजेशनाथ वास्तोलाले बताउनु भएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माका अनुसार दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । केही घाईतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
घाइतेहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत धुलिखेल र काठमाडौं ल्याईएको छ । घाईतेको उद्धारका लागी सेनाको एमआई १७ हेलिकप्टर प्रयोग गरिएको छ । घाईते २६ जनाको उद्धार गरी सेनाको हेलिकप्टर काठमाण्डौ फर्कीएको छ । अन्य सामान्य घाईतेलाई एम्बुलेन्स र बसमार्फत नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ ।
बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न गाह्रो परिरहेको प्रहरीले बताएको छ । बस भीरबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना दिउँसो करीब १ बजे भएको बताईएको छ । बसमा १०० यात्रु सवार रहेको अनुमान गरिएको छ ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेमा भएको बस दुर्घटनामा परेकाहरुको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले घटना दुखद भएको भन्दै सरकारका सबै संयन्त्र र पार्टी कार्यकर्तालाई छिटो भन्दा छिटो उद्धार गर्न निर्देशन दिनुभएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्