नेदरल्याण्डमाथि नेपालको सानदार जित
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले पारस खड्काको कप्तानी पारीको मदतमा नेदरल्यान्ड्सलाई १९ रन ले हराएको छ । पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै रहेको छ ।
नेदरल्यान्डको आमस्ट्रडममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । २१८ रन विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्डले ४८.३ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्र बनाउन सफल भएको थियो ।
अन्तिम दुई ओभरमा नेदरल्याण्डलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको हो ।
खराब सुरुवात गरेको नेदरल्याण्डले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाएको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडेका थिए । यस्तै टी भान डेरले ३६ रन जोडेका थिए ।
नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट लिएका थिए । शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १–१ विकेट हात पारेका थिए ।
खराब सुरूवात गरेको नेपालले पनि ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
कप्तान पारस खड्काले ८४ रन बनाएका थिए भने सागर पुनले ४५ रनको साझेदारी गरेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए भने विनोद भण्डारीले १७ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
घरेलु टोली नेदरल्याण्डका लागी लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २–२ विकेट लिएका छन् । नेदरल्याण्डको ८ खेलमा यो पहिलो हार हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्