द्वन्द्धमा मारिएका र वेपत्ताका परिवारलाई ५ लाख
सरकारले तत्कालीन द्वन्द्धमा मृत्यु भएका तथा वेपत्ताका परिवारलाई पूर्व घोषणा गरीए अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । साउन २० गते बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद बैठकले यो रकम दिने निर्णय गरेको हो ।
मन्त्री परीषद बैठकले ‘विगतका सरकारहरुले निर्णय गरी कार्यान्वयन गर्न बाँकी सहिद एवं वेपत्ता र द्वन्द्धका क्रममा मृत्यु भएकाहरुको परिवारलाई दिन बाँकी रकम उपलब्ध गराउन पूर्व निर्णय कार्यान्वयन गर्ने’ भन्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सहिद एवं वेपत्ता योद्धा परिवारका प्रतिनिधिहरुसँगको भेटमा पनि बाँकी ५ लाख दिने निर्णय भएको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले भन्नुभयो–‘जनयुद्धका सहिदहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु ।’
२०६५ सालमा दाहालकै नेतृत्वको सरकारले सहिद एवं वेपत्ता र द्वन्द्धका क्रममा मृत्यु भएकाहरुको परिवारलाई १० लाख दिने निर्णय गरेपनि ५ लाखभन्दा बढी पाएका छैनन् । कतिपयले यही ५ लाख पनि नपाएको गुनासो गर्दै आएका थिए ।
माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाँकी पाँच लाख नगद दिनुको साटो कुनै जलविद्युत आयोजनामा शेयर दिने घोषणा भएको थियो । तर, निर्णय भने कार्यान्वयन भएको थिएन । आफ्नो समर्थनमा बनेको केपी ओली नेतृत्वको सरकारले बजेट ल्याउन लाग्दा माओवादीले यो माग गरेको थियो । तर, बजेटमा माओवादीले भने जस्तो परेन ।
पछि बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पूर्वघोषणाअनुसार रकम दिने बताउनु भएको थियो । तर, त्यसको स्रोत बजेटमा व्यवस्थापन भएको थिएन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्