राणाबाट बिद्रोह गरेर २०० जना थापातिर
एकाएक पार्टी एकता भाँडिएपछी पसुपति समसेर राणा नेतृत्वको राप्रपाबाट सहायक महामन्त्री हेमजङ गुरुङसहित २ सय भन्दा बढी कार्यकर्ताले बिद्रोह गरी राप्रपा नेपालमा प्रवेश गरेका छन् । यसअघि अन्तिम चरणमा रहेको दुई पार्टीको एकता प्रक्रिया भारतिय राजदुत र पसुपति समसेर राणाको भेटपछी एकाएक भाँडिएको थियो ।
शनिबार पसुपति समसेर नेतृत्वको राप्रपाबाट सहायक महामन्त्री गुरुङसहित लमजुङका २ सय भन्दा बढी कार्यकर्ताले कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका हुन् । राप्रपा छोडेर पार्टी प्रवेश गरेकाहरुलाई शनिबार राप्रपा नेपालले पार्टी मुख्यालयमा खादा लगाएर स्वागत गर्दै सदस्यता प्रदान गरेको छ ।
राप्रपा छोडेर राप्रपा नेपाल प्रवेश गर्नेहरुमा राप्रपाका केन्द्रीय सदस्य लालध्वज लामा, राप्रपाका लमजुङ जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ, पूर्वमन्त्री जगतबहादुर गुरुङ लगायत रहेका छन् । पार्टी परीत्याग गरेका राप्रपाका सहायक महामन्त्री हेमजङ गुरुङले देशभरका कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको बताउनु भएको छ ।
पार्टी अध्यक्ष राणाले कार्यकर्ताको भावना विपरित दुई नेतालाई सरकारमा पठाएर एकता भाँडेकाले २७ वर्ष लगानी गरेको पार्टी परित्याग गरेको सहायक महामन्त्री हेमजङ गुरुङले बताउनु भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता नभएपनि कार्यकर्ता तहमा पार्टी एकिकरणको काम सुरु भएको बताउनु भएको छ ।
राप्रपाका नेता तथा कार्यकर्ताको समूह आफ्नो पार्टीमा प्रवेश गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापा हर्षित देखिनुभएको छ । थापाले जिल्ला जिल्लामा कार्यकर्ता तहमा पार्टी एकता प्रक्रिया अभियानको रुपमा संचालन गरी राप्रपा नेपाललाई देशभक्तहरुको बलियो शक्ति बनाउने दाबी गर्नुभएको छ । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई जना मन्त्री पठाएपछी राप्रपा नेपालले साउन २५ गते पार्टी एकताको अध्याय समाप्त भएको घोषणा गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्