मिजार हत्याको छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
मिजारको हत्या भएको भन्दै बुधबार सिंहदरबारमा दलित अगुवाहरुले छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछी प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।
हत्या गरिएका मिजारले गत असार २५ गते गाउँकै एक युवतीसँग अन्तरजातीय बिहे गरेका थिए । तर बिहे गरेको दुई दिनपछी २७ गते माइती पक्षले जबर्जस्ती छुटाएका थिए । त्यसको ठिक दुई दिनपछि मिजारको शब धादिङको गजुरीमा गाडिएको अवस्थामा फेला परेको थियो ।
बुधबार बिहान साढे १० बजे दलित अगुवाहरुको ज्ञापनपत्र बुझे लगत्तै प्रधानमन्त्रीले गृहसचिव र प्रहरी महानिरीक्षकलाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिनुभएको हो ।
भेटमा गृहसचिव गोपाल मलेगो र महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानविन समिति बनाउने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो–‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’
आफूहरुले ज्ञापनपत्र बुझाएको एक घण्टाभित्रै प्रधानमन्त्री प्रचण्डले गम्भीरता देखाउँदै गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर छानविन गर्न निर्देशन दिएकोमा दलित अगुवाहरुले खुसी व्यक्त गरेका छन् ।
दलित अगुवा नेता तिकल परियारले भने–‘मिजार हत्याकाण्ड शंकास्पद छ । प्रधानमन्त्रीले चासो दिएर छानविन गर्न निर्देशन दिएकाले सत्यतथ्य बाहिर आउँछ र दोषी कारवाहीको भागिदार हुन्छ भन्ने विश्वास छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्