नेपाल छिर्ने विदेशीको नालिबेलि मेशिनमा
अध्यागमन विभागले नेपाल आउने यात्रु नेपाल प्रवेश गर्नुअघि नै उनीहरुको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ हुनासाथ उसको विवरण अध्यागमनमा प्राप्त हुनेछ ।
यात्रुको पृष्ठभूमि, कालोसूचीमा रहे–नरहेको जस्ता जानकारी अग्रिम प्राप्त हुँदा अपराधिक पृष्ठभूमिका व्यक्तिको आवागमनमा कडाइ हुने विभागका महानिर्देशक केदार न्यौपानेले बताउनु भएको छ ।
यो प्रणाली सफ्टवयेर प्रणालीमार्फत सञ्चालन हुने र एकै पटक खरिद गर्न समेत नपर्ने भएकाले राज्यलाई थप आर्थिक भार समेत नपर्ने महानिर्देशक न्यौपानेको भनाइ छ ।
न्यौपानेले भन्नुभयो–‘अहिले तत्काल यो सफ्टवयर ल्याएर जडान गर्ने र सो बापत लाग्ने रकम निश्चित समयसम्म यात्रुको टिकटमा समावेश गरेर तिर्न सकिने भएकाले राज्यलाई थप आर्थिक भार समेत नपर्ने गरी लागू गर्न प्रस्ताव गरेका छौँ ।’
यो प्रणाली लागू भएसँगै आपराधिक पृष्ठभूमि र कालोसूचीमा रहेका व्यक्तिको विवरण सहजै प्राप्त हुने र उनीहरुलाई नेपाल आउने प्रवेशाज्ञा नदिने वा प्रवेश गरिसकेपछि पक्राउ गर्न सकिने विश्वास लिइएको छ ।
अहिले यात्रुको आवतजावतको विवरण कागजी प्रक्रियामा कार्डमार्फत रहेकाले नयाँ प्रविधिको प्रयोगसँगै सबै यात्रुको विवरण अनलाइन सफ्टवेयरमा रहनेछ ।
आपराधिक पृष्ठभूमिका व्यक्ति नेपालमा पटक–पटक प्रवेश गर्ने तर सो सम्बन्धी जानकारी नेपाल सरकारलाई नहुँदा उनीहरु यहाँ आएर विभिन्न अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका धेरै उदाहरण छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्