सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार भन्छ–‘लोकमान नियुक्तिको फाईल हरायो’

Lokmansing Karki

सरकारले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धि निर्णयको फाईल भुकम्पका कारण हराएको जवाफ सर्वोच्चलाई पठाएको छ । मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले लोकमानको नियुक्ति गर्दाको सक्कली फाइल फेला नपरेको भन्दै सर्वोच्च अदालतलाई चिठी लेखेका हुन् ।

कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुनरावलोकन रिटको जवाफ दिँदै मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो । सक्कल फाइल झिकाउन अदालतले गरेको आदेश बमोजिम चिठी काट्दा पनि सरकारले बेवास्ता गरेपछि सर्वोच्च प्रशासनले भदौ २१ गतेसम्म उक्त फाइल पठाउन ताकेता गरेको थियो ।

भदौ २१ गते मन्त्रिपरिषदका सचिव महेन्द्रमान गुरुङले सर्वोच्चलाई लेखेको चिठीमा उल्लेख छ, ‘सर्वोच्चको चिठी प्राप्त भयो । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुग्न गई नयाँ भवनमा कार्यालय सरेको कारणबाट उल्लेखित फाइल फेला पर्न नसकेको हुँदा उक्त फाइल फेला पर्नासाथ उपलब्ध गराइने ब्यहोरा निर्णयानुसार अनुरोध छ ।’

त्यस्तै, सामान्य प्रशासन मन्त्रालयले लेखेको चिठिमा ‘उक्त सक्कल फाइल खोजी भइरहेको छ, उक्त अभिलेख दस वर्ष पुरानो रहेको र पुरानो अभिलेख फेला पर्नेगरी व्यवस्थित रुपमा राखेको नपाइएको हुँदा भेटाउन नसकिएको ब्यहोरा सम्मानित अदालत समक्ष अनुरोध गर्दछु । उल्लेखित विवरण हालसम्म फेला पर्न नसकेको, फेला पर्नासाथ सम्मानित अदालतसमक्ष पठाइने ब्यहोरा आदेशानुसार अनुरोध गर्दछु ।’

अख्तियारमा लोकमान नियुक्तिको सक्कल कागज प्राप्त भएपछि सर्वोच्चले तिनको अध्ययन गर्नेछ । यस आधारमा उनको नियुक्तिमाथि पुनरावलोकन हुनुपर्छ कि पर्दैन भन्ने निष्कर्षमा अदालत पुग्नेछ । पुनरावलोकन गर्नुपर्ने देखिए लोकमानको नियुक्ति संवैधानिक र कानुनसम्मत् हो वा होइन भन्नेमा फेरि अदालतमै बहस सुरु हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्