दिल्लीमा आज दाहालका महत्वपुर्ण भेटघाट
छिमेकी मुलुक भारतको चार दिने राजकिय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिल्लीमा महत्वपुर्ण भेटघाट गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा भारतीय समय अनुसार बिहान ११ः३० देखि १२ बजेसम्म आधा घन्टा छुट्टै वार्ता तय गरिएको छ । सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधि मण्डल स्तरीय औपचारिक भेटवार्ता हुने समय तालिका छ ।
भारतीय विदेश मन्त्रालयको कार्य तालिका अनुसार १ देखि १ः१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ । त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ । पत्रकार सम्मेलनलाई दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
१ः३० देखि एक घन्टा दिवाभोज हुनेछ । दाहाल र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधि मण्डल स्तरीय र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ ।
दुई देशका प्रधानमन्त्रीबीच हुने छलफलका विषय
– पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, जो वर्षौंदेखि रोकिएको छ
– महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना
– ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना
– गोरखपुर–भैरहवा प्रसारण लाइन
– बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने
– विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय
– नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण
– ऊर्जा व्यापार सम्झौताको प्रोटोकल
– गौरीभन्टा नाकाको स्तरोन्नति
– कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना
– दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल
– हुलाकी राजमार्गको दोस्रो चरणको निर्माण
– एकीकृत जाँच चौकीहरू निर्माण गर्ने
– नेपालको व्यापार घाटा कम गर्ने विषय
– नेपाल प्रहरीको एकेडेमी निर्माण
फेसबुकबाट कमेन्ट गर्नुहोस्