सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोप्य भेटघाटमा प्रचण्डलाई मोदी ललिपप

pushpakamal-dahal-with-narendra-modi

प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए ।

‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ,’ मोदीको भनाइ थियो । प्रधानमन्त्री दाहालले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् । मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म पनि नेपाल भ्रमणको समय जुराउनेछु ।’

दुवै प्रधानमन्त्रीबीच हटलाइनमा रहेर आपसी समस्या समाधान गर्ने सहमति भएको छ । साथै मोदीले माथिल्लो कर्णाली, सप्तकोसी उच्च बाँध र पञ्चेश्वरको नाम नै लिएर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपालसँग आग्रह गरेका छन ।

मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले भने–‘पहिला डिपिआर तयार गरौँ, त्यसपछि शीघ्र कार्यान्वयनमा जोड दिउँ, भारत आफ्नोतिरको सबै समस्या समाधान गर्न तयार छ, तपाईँहरू पनि गर्नुहोस ।’

भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन समकक्षि पुष्पकमल दाहालसँग आग्रह गरेको अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दा पनि मोदीले यही भनेका थिए ।

भ्रमणमा सहभागी एक उच्च अधिकारीका अनुसार प्रचण्डसँग मोदीको भनाइ थियो–‘के–के संशोधन गर्ने हो, प्रस्ताव ल्याउनुस, आपसी हित र सम्बन्ध सुदृढ हुने गरी जे गर्नुपर्छ, गरौँला ।’

मोदीले एकीकृत जाँच चौकीमा नेपालतिरको समस्या समाधान गर्न आग्रह गरेका छन् । मोदीले सीमापार रेल्वेका लागि नेपालतर्फ जग्गा अधिग्रहण लगायतको समस्या समाधान गर्न पनि आग्रह गरे । पेट्रोलियम र ग्यास पाइपलाइनमा संयुक्त रूपमा काम गर्न र नयाँ सम्भावना खोज्न पनि मोदीले आग्रह गरेको स्रोतले बताएको छ ।

मोदीले प्रधानमन्त्री दाहालसँग काठमाडौं–लुम्बिनी रेल्वे लाइनको सर्भेका लागि बैठकमा प्रस्ताव गरेका थिए । नेपाल र चीनबीच चीनले सर्भे गर्ने सहमति यसअघि नै भइसकेको छ । मोदीले बैठकमा भनेका थिए–‘हामीलाई यो आग्रह गर्नुहुन्छ भने कार्यान्वयनका लागि तयार छौँ ।’

त्यसैगरी मोदीले व्यापार सम्झौता आगामी महिना (अक्टोबर)देखि सात वर्ष स्वतः नवीकरण हुने बैठकमा बताएका थिए । यसअघि कर्मचारीस्तरमा सहमति भए पनि नेपाल पक्ष ढुक्क थिएन ।

त्यस्तै मोदीले भारतको सडक पूर्वाधार तथा ऊर्जामन्त्रीलाई नेपाल–भारत संयुक्त परियोजना तीव्र गतिमा अघि बढाउन आफूले निर्देशन दिइसकेको बैठकमा बताएका थिए ।

मोदीले हल्दियाबाट नेपालको कोसी र गण्डकमा फेरी सञ्चालनका लागि संयुक्त रूपमा काम गर्न प्रस्ताव गरेका छन् । मोदीको भनाइ थियो, ‘हामी भारतलाई जोडिरहेका छौँ, नेपाललाई पनि जोड्न सकिन्छ भन्ने लागेको छ । मिलेर काम गरौँ ।’

दुईपक्षीय बैठकमा मोदीले बुद्ध सर्किटको अवधारणा अगाडी सार्दै भने –‘युरोपको सर्किटजस्तै भारत र नेपालबीच बुद्ध सर्किट बनाउँ, एक–अर्कालाई जोडौँ, लुम्बिनी बिना बुद्ध सर्किट पूरा हुँदैन, यसमा मिलेर काम गरौँ, नयाँ सम्भावना पहिल्याउँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्