यी हुन स्कुलमा बम बिष्फोट गराउने
मंगलबार बिहान काठमाडौंका बिभिन्न विद्यालयहरुमा बम राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । बम विष्फोट गराएको आरोपमा पक्राउ पर्नेमा रामेछाप घर भएका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले मंगलबार साँझ सार्बजनिक गरेको छ ।
बम बिष्फोटको अभियोगमा सार्बजनिक गरिएका लाखे र तामाङ गत साउन ६ गते स्कुल बस जलाएको घटनामा पनि पक्राउ परेर साधारण तारिखमा छुटेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि हतियार सहित भागेका लडाकूहरु पार्टी बनाएर आपराधिक कार्यमा सक्रिय रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रहरीले बम बिष्फोट गराउने तीन जनाको पहिचान भएको बताए पनि दुई जनालाई मात्रै सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुको समुहले आज एकबिहानै बौद्धको मनकामना र आकाशदीप स्कुलमा बम बिष्फोट गराएको थियो ।
अरु पाँच ओटा स्कुलमा राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । बम विष्फोटबाट मानविय क्षति नभएपनि राजधानीको जनजीवन आतंकित बनेको थियो । भूमिगत समूहले दशैंको बेला चन्दा असुल्न बम पड्काएको हुनसक्ने प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्