सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

महेन्द्र मञ्जिलमा आठ बर्षदेखि ट्याङ्करको पानी

खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि खाने पानीको आपुर्ति निकै खर्चिलो बन्न पुगेको छ । महसुल नतिरेको भन्दै आठ बर्षअघि तत्कालीन मुमा बडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको लाईन काटिएको थियो ।

खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन । तत्कालीन मुमा बडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको छ ।

mahendra-manjil

खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ । रत्न शाहको रेखदेखमा खटिएका दरबारका पूर्वसचिव शम्भुप्रसाद अधिकारीले भन्नुभयो–‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई एक पटकमा ८२० रुपैयाँ बुझाउनुपर्छ । दुई ट्याङ्कर पानी दैनिक चाहिन्छ ।’

अधिकारीले भन्नुभयो–‘यसरी पानी ओसार्दा निकै समस्या भएपछि नेपाल सरकारका मुख्य सचिवसम्मलाई गुहार्यौँ तर उहाँहरूबाट टाउको नदुखाउनुहोस् भन्ने जवाफ पायौँ ।’ महेन्द्र मञ्जिलका लागि पानी खरिदमा मासिक ५० हजार र ट्याङ्करको इन्धन र मर्मत खर्च अतिरिक्त लाग्दै आएको छ ।

ट्याङ्कर पुरानो भएकाले बिग्रिएर धेरै दुःख दिने गरेको गुनासो गर्दै अधिकारीले डिजेल पनि धेरै खपत हुने गरेको बताउनुभएको छ । तत्कालीन राजा वीरेन्द्र भएकै बेला नारायणहिटी दरबारमा खानेपानीको अभाव भएपछि इनार खन्नुपर्ने वा बोरिङ गर्नुपर्ने विषय त्यहाँका कर्मचारीले उठाएका थिए ।

तर, तत्कालीन राजा वीरेन्द्रले राजपरिवारमा इनार खन्ने चलन नभएको र बोरिङ गर्दा पानीको सतह घट्न सक्ने भएकाले पानी ओसार्नु नै उपयुक्त हुने भन्दै ट्याङ्कर किन्न आदेश दिएका थिए । सोही अनुसार २०५५ सालमा ६ हजार लिटर क्षमताको पानी बोक्ने ट्याङ्कर किनिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS