पुर्वगृहमन्त्री खोज्न २६ मिटर गहिराईमा गोताखोर
आईतबार त्रिशुली नदीमा जिप खसेर वेपत्ता हुनुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र दुई जना भाइहरुको अवस्था अँझै अज्ञात रहेको छ । आईतबार बेलुका देखि नै सुरक्षाकर्मी खोजीकार्यमा निरन्तर खटिए पनि वेपत्ता तीन दाजुभाईलाई फेला पार्न सकिएको छैन ।
नेपाली गोताखोरले त्रिशूली नदीको २६ मिटरसम्म गहिराई सम्म खोजी गरेको थियो । नदीमा पानी अत्यधिक रहेका कारण २६ मिटर तल पस्दा पनि पिँधसमेत फेला पार्न नसकेको चीतवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी सिंहले त्रिशुली नदिमा वेपत्ता पुर्वगृहमन्त्रीका तीन दाजुभाईको खोजीका लागि राज्यका सबै संयन्त्र त्रिशुली खटिएको बताउनु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले तीन वटा डुंगाबाट वेपत्ताहरुको खोजि गरिरहेको छ ।
जीप खसेको स्थान घोप्टेभीरबाट मुग्लिनसम्मको दुई किलोमिटर सम्मको क्षेत्रमा खोजी भइरहेको छ । यतिबेला त्रिशुलीमा पानीको बहाव अत्यधिक भएको र दुर्घटना स्थल गहिरो क्षेत्र भएका कारण खोजी कार्यमा समस्या भएको सुरक्षाकर्मीले बताएका छन् ।
हिँजो राति १ बजेसम्म खोजी गरिएको थियो भने आज बिहानै देखि खोजी कार्य सुरु गरिएको छ । म्याग्नेटको समेत प्रयोग गरी जीप खोजीएको भएपनि फेला नपरेको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताउनु भएको छ । बंगलादेशबाट गोताखोर मगाएर भएपनि वेपत्ताको खोजी गर्ने सरकारका यातायात मन्त्री रमेश लेखकले बताउनुभएको छ ।
पुर्वगृहमन्त्री माधवप्रसाद घिमिरे, भाईहरु प्रकाशचन्द्र र मोहन घिमिरे मुग्लिन र कुरिनटारको बिचमा पर्ने घोप्टभिरबाट जिप सहित त्रिशुलीमा खसेर वेपत्ता हुनुभएको हो । काठमाडौं जाँदै गरेको बा९च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पौने पाँच बजेतिर त्रिशुलीमा खसेको थियो ।
जीप दुर्घटनामा परी घिमिरेकी आमा चैतन्यकुमारी, अंगरक्षक सशस्त्रका सई रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको छ । घिमिरेका निजी चालक बिष्णु राई भने हाम फालेर बाँचेका छन् । घाईते राईको चितवन स्थित अस्पतालमा उपचार भईरहेको छ । घिमिरे परिवार मुक्तिनाथ दर्शन गरेर फर्किँदै गर्दा जीप त्रिशुलीमा खसेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्