सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मार्पाक दुर्घटनामा मृतकको संख्या १९ पुग्यो (नामसहित)

marpak-dhading

उत्तरी धादिङको लपाङखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी १८ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा काठमाण्डौ स्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृतकमध्ये १७ जनाको सनाखत भए पनि दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी घाईते भएका १३ जनाको काठमाण्डौस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुलाई उपचारका लागी हेलीकप्टर मार्फत काठमाण्डौ ल्याईएको हो । दुर्घटनामा मृत्यु भएकाहरुमा दुई बालक सहित १३ जना पुरुष र ६ जना महिला रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यदेवी गाविसका रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी र पदमबहादुर थापा रहेका छन् ।

यस्तै सेर्तुङ गाविसका लारुप तामाङ, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामाको पनि मृत्यु भएको छ ।

सदरमुकाम धादिङबेसीबाट उत्तरतिर किन्ताङफेदी तर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको बस मार्पाकको लपाङखोलामा पल्टिएर दुर्घटना भएको हो । बिहान ७ बजे धादिङबेसीबाट २७ जना यात्रु बोकेर त्यसतर्फ गएको बस साढे ११ बजे लपाङखोलास्थित जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ २ सय मिटर तल खसेको हो ।

बिच बाटोमा यात्रु हालेकाले ओभरलोड भई दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । बसका अधिकांस यात्रु सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको ५० हजार रकम लिएर घर फर्कँदै गरेका थिए । पहिरोले थुनिएको बाटो स्थानीयबासीले पन्छाएर बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्