सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टिकापुर हत्याकाण्डको मुद्दा फिर्ता दशैँ अघिः प्रचण्ड

prachanda-meeting-with-madheshi-morcha

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैँ अघि नै संविधान संशोधनको गृहकार्य भईरहेको बताउँदै मधेसी मोर्चाका नेताहरुलाई शंका नगर्न आग्रह गर्नुभएको छ । संविधान संशोधनमा नौटंकी गरिरहेको भन्दै सरकारको समर्थन फिर्ता लिने सम्मको चेतावनी दिएपछी प्रधानमन्त्रीले मोर्चालाई यस्तो आश्वासन दिनुभएको हो ।

मोर्चासँग मंगलबार सिंहदरवारमा भएको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म दशैँ अघि नै संशोधन र मुद्दा फिर्ताको प्रक्रिया अगाडी बढाउने गृहकार्यमा सरकार डटेर लागेको बताउनुभएको छ । टिकापुर हत्याकाण्ड र मधेस आन्दोलनमा पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिनुपर्ने मोर्चाको माग रहेको छ ।

संविधान संशोधन मार्फत मोर्चाका मागहरु संवोधन गर्ने र टिकापुर नरसंहारमा संलग्नहरुलाई उन्मुक्ति दिनुपर्ने सर्त सहित मधेसी मोर्चाले प्रचण्ड सरकारलाई समर्थन गरेको थियो । संविधान संशोधन अन्र्तगत मोर्चाले हिन्दी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने, अंगिकृतले सरकारका उच्च पदमा जान पाउनुपर्ने, प्रदेशको सिमांकन लगायतका माग राखेको छ ।

बैठकको सुरुमै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संशोधनबारे धेरै हल्ला भएपनि आफूहरुसँग कुनै छलफल नभएको भन्दै कतै धोका दिन लागेको त होइन भन्ने आशंका व्यक्त गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो–‘अनावश्यक शंका नगर्नुहोस् । यसले समस्या मात्र खडा गर्छ । संशोधनको ड्राफ्ट तयार हुँदैछ । दशैं अघि नै प्रस्ताव पेश हुन्छ ।’

राजेन्द्र महतोले तीनुबुँदे सहमतिको दोस्रो बुँदा अनुसार आन्दोलनका क्रममा पक्राउ परेका र फरार भएकाहरुले दशैं मनाउँन पाउँछन् कि पाउँदैनन् भनेर बैठकमा प्रश्न गर्नुभएको थियो । जवाफमा बैठकमा उपस्थित गृहमन्त्री विमलेन्द्र निधिले कानुनको अध्ययनका लागि दशैंसम्म समय लाग्ने बताउँदै धैर्यता गर्न आग्रह गर्नुभएको थियो ।

मोर्चाका तर्फबाट बोल्दै राजेन्द्र महतोले हाल कायम ईलाकाका आधारमा स्थानीय तह पुनर्संरना गर्ने तीन दलको सहमति प्रति आपत्ति जनाउनुभएको थियो । जवाफमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन पनि अहिलेको मुख्य चुनौती रहेको बताउँदै आफूले निर्वाचन गर्नका लागि सहमति गरेको बताउनुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्