सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिन्दी राष्ट्रिय भाषा बनाउने कुरा हल्ला; पुन

barsaman-pun

पुर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने कुरा हल्ला मात्रै भएको बताउनु भएको छ । दाङमा पत्रकारसँग कुरा गर्दै नेता पुनले भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा राष्ट्रिय भाषाको टुङ्गो लाग्ने बताउनु भएको छ ।

पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने हल्लालाई केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षड्यन्त्र मात्रै भएको टिप्पणि गर्नुभएको छ । त्यसैगरी नेता पुनले अंगीकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउन खोजिएको बताउनुभएको छ ।

नेता पुनले अंगिकृतका सवालमा पनि संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाइदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको आरोप लगाउनुभएको छ । नेता पुनल भन्नुभयो¬–‘अब भारतबाट मात्रै बुहारी भित्र्याईन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’

पत्रकार सम्मेलनमा नेता पुनले संघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टेकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताउनुभयो । पूर्व अर्थमन्त्री पुनका अनुसार नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपति बीच ब्रिक्स सम्मेलनमा साइडलाइन भेटघाट र सम्वाद गर्ने निश्चित भएको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भन्नुभयो–‘नेपाल हल्लै हल्लाको देश हो । आफै भ्रमण मिति ‘फिक्स’ गर्ने र आफै ‘क्यान्सिल’ गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’

नेता पुनले यही सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गराउने दावी गर्नुभएको छ । सीमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा कुन जिल्ला थप्ने, कुन जिल्ला हटाउने भन्ने बिषयमा कुनै सहमति नभएको पुनले प्रष्ट पार्नुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्