कास्मिरको सैनिक ब्यारेकमा आतंकवादी हमला
आईतबार राति भारत प्रशासित कास्मिरमा रहेका भारतीय सैनिक क्याम्पमा आतंकवादीले आक्रमण गर्दा एक सैनिकको मृत्यु भएको छ । आतंककारी आक्रमणमा भारतीय अर्धसैन्य सुरक्षा बल (बिएसएभ)का एक सैनिक अधिकृत मारिएको भारतीय प्रहरीले पुष्टि गरेको छ ।
भारतीय प्रहरीका सिनियर सुपरीटेन्डेन्ट इम्तियाज अहमदका अनुसार आक्रमणबाट घाइते तीन सैनिक मध्ये एक जनाको पनि मृत्यु भएको छ । उनका अनुसार आतंकवादीले ग्रिनेट र स्वचालित हतियार फालेका थिए । हमलाका कारण क्याम्पमा लागेको आगो नियन्त्रणमा लिइसकिएको छ ।
आक्रमण गरिएको क्षेत्र कास्मिर स्थित बारामुल्ला सहरबाट ५४ किलोमिटर टाढा पर्छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी क्याम्पमा आतंकवादी हमला भएको जनाएको छ । कास्मिरको भू–भागमा आ–आफ्नो दाबीलाई लिएर भारत पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।
गत सेप्टेम्बर १८ मा कास्मिरको उरीमा १८ जना भारतीय सैनिक आतंकवादीद्वारा मारिएका थिए । भारतले पाकिस्तानी आतंकवादीले आक्रमण गरेको दाबी गरिरहेको छ । बदला स्वरुप भारतले पाकिस्तानी भुमिमा गएर समेत अपरेसन चलाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्